Logo
Logo

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने 



युरोप । नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन जुलाई ६ र ७ तारिख काठमाडौंमा हुने भएको छ ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा अनलाइन भर्चुअल माध्यमबाट बसेको मञ्चको बैठकले सो निर्णय गरेको हो ।

अधिवेशनमा राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने मञ्चका सहसंयोजक सुभाष पोखरेलले बताए ।

पार्टीको संगठन भएकाले राजनीतिक विषयमा छलफल त हुने नै छ। तर सँगै प्रवासमा रहेका नेपाली श्रम, सीप र पुँजीलाई नेपालमा कसरी भित्र्याउने, विदेशमा रहेका नेपालीको मतदान गर्न पाउने व्यवस्थालगायतका विषयमा पनि अधिवेशनमा गम्भीर छलफल गरिने उनले बताए । 

अधिवेशनमा प्रवासी नेपाली एकता मञ्चको ५१ सदस्यीय आयोजक कमिटी, हरेक राष्ट्रिय कमिटीबाट १० जना बराबर १ जना र कमिटीले मनोनीत गरिएका ५ प्रतिशत गरी २ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने मञ्चका सचिव ध्रुव सुवेदीले जानकारी दिए । 

अमेरिकी, युरोप, मध्यपूर्व , पूर्वी एसिया र ओसिनिया महादेशका विभिन्न ३० भन्दा बढी राष्ट्रबाट प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन् । पार्टीको महाधिवेशनकै समयमा मञ्चको पनि अधिवेशन गर्न लागिएकोले प्रवासबाट अधिवेशनमा भाग लिने प्रतिनिधिहरू थप उत्साहित भएको सचिव सुवेदीको भनाई छ ।

मञ्चको माउ पार्टी नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन जुन ३० देखि जुलाई ४ तारिख सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्