Logo
Logo

नयाँ समीकरणबारे माधवको टिप्पणी- सोझो औँलाले घिउ ननिस्किए बंग्याउनुपर्छ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ को अवसरलाई सदुपयोग गर्न नसकेपनि गल्ती स्वीकारेर अगाडि बढ्न सक्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानविपरीत कार्यलाई अझै सही गरेँ भन्दै हिँडेकाहरुले गर्दा समस्या भएको बताए ।

‘०७४ सालमा मौका पाएर दुई तिहाइमा पुगेको स्थिति थियो । त्यो सदुपयोग गर्न सकेनौँ । त्यो गल्ती महसुस गरेर आत्मालोचना गर्नुपर्छ कि भनेर हामीलाई त्राहिमाम् भएको छ’ सोमबार पार्टी निकट अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गल्ती हुनसक्छ, स्वीकार गर्ने, नदोहो¥याउने, अहिले पनि संसद् विघटन गरेको ठिक छ भन्दिने, संविधान मिचेर ठिक गरियो भन्दिने, यस्तो कुरा जान हुँदैन । त्यही पनि अब पुरानो कुरा नगरौँ ।’

अब पुराना कुरा छाडेर नयाँ हातेमालो गर्दै अगाडि बढ्न पर्ने उनल प्रस्ताव गरे । अध्यक्ष नेपालले आफूहरू कम्युनिष्ट आन्दोलनको रक्षाको लागि समाजवादी मोर्चा गठन गरेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले समाजवादी मोर्चा बनाएका छौँ । जिल्ला तहको कार्यक्रम गर्ने तयारी छौँ । अरू पनि आउँछन् भने स्वागत गरेका छौँ । आउँदैनन् भने हामी गाली गर्दैनौँ, हाम्रो त्यस्तो संस्कार छैन ।’ नयाँ सत्ता समीरणमा असन्तुष्टि जनाउँदै कुनै बेला सोझो औँलाले घिउ ननिस्किएपछि बंग्याउनुपर्ने बाध्यता आइलाग्ने उनले बताए ।

‘राजनीतिमा कहिलेकाहीँ त्यस्तो पनि चाहिन्छ । तर, अनुचित कार्य हुँदैन । देशको राजनीतिक गलत दिशातर्फ नजाओस् भन्ने कुरामा हामी सजग छौँ’ अध्यक्ष नेपालले भने, ‘हामी सही दिशातर्फ अगाडि बढोस् भन्ने पक्षमा छौँ । कताबाट यो बाटो घुम्छ त्यो पनि विचार गरिरहेका छौँ । घुम्तीेमा मोटर घुमाउँदा दुर्घटनामा नपरोस् भन्ने कुरामा विचार गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्