Logo
Logo

यी स्थानमा आज हावाहुरी र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, भोलि बुधबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्