Logo
Logo

सत्तामा अविश्वास, मध्यावधि ओलीको दाउ


1.3k
Shares

काठमाडौं । इलाम र बझाङको उपनिर्वाचनमा सफलता प्राप्त गरेपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मध्यावधितर्फ उन्मुख भएका छन् । सत्तारुढ दलहरूले इलाम र बझाङमा छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए । यद्यपि, इलाममा एमालेलाई माओवादी केन्द्रको समर्थन थियो । उपनिर्वाचनको सफलताबाट हौसिएका ओलीले आगामी दशैँ तिहारको बीचमा मध्यावधि निर्वाचन गराएर प्रधानमन्त्री बन्ने दाउ हेरेका छन् ।

ओलीले वाम गठबन्धन आवश्यक छैन भन्दै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक भविश्य सिध्याउन चाहन्छन ।
सत्तागठबन्धन भत्काउन मात्र प्रचण्डसँग मिलेका ओली नयाँ गठबन्धन नबनोस् भनेर नेपाललाई गठबन्धनमा सहभागी गराउन सहमत भएका थिए । यदि, अघिल्लो सत्तागठबन्धन नभत्किएको भए एमालेलाई उपनिर्वाचन जित्न कठिन थियो । ‘फुटाउ र राज गर’ नीतिमा ओली सफल भएका छन् । अब उनको ध्यान मध्यावधिमा छ ।

प्रचण्डलाई अघि सारेर ओली मध्यावधिमा जान चाहन्छन । मध्यावधिको शर्तमा कांग्रेससँग पनि ओली मिल्न सक्छन ।
सत्ता गठबन्धन दलहरू चारतिर फर्केर चुनाव लडिरहेका बेला उनीहरू बीच शंका, आशंकाले विश्वासको संकट चुलिदै गएको छ । एक आपसमै विश्वास कमजोर बनिसक्दा एमाले भने अझै उत्साहित भएर माओवादीसहित साना दललाई हेप्न र पेल्न थालिसकेको छ ।

यसरी हेप्नु र पेल्नुमा एउटा कारण छ– त्यो भनेको यो गठबन्धनलाई असफल गराएर कांग्रेसलाई ठूलो दलको रुपमा सरकार बनाउन दिनु र सरकार गठनसम्बन्धी संविधानका सबै धारा सिध्याएर अन्तिम विकल्पको रुपमा मुलुकलाई मध्यावधि निर्वाचनतर्फ धकेल्नु हो । ओलीले अहिले गठबन्धन पनि त्यही ढंगले निर्माण गरेका हुन् ।

खासगरी माओवादीलाई कांग्रेसको चंगुलबाट फुत्काउने ओली रणनीतिमा प्रचण्ड फसेका छन् । ओलीले आगामी निर्वाचनमा पनि सहकार्यको बचन दिएको भए पनि धोका दिने सम्भावना छ । ‘सरकार बनाउन गठबन्धन भएको हो, चुनावसँगै लड्ने कुराकानी भएको छैन, यो विषय त इलाम र बझाङले देखाएको छ नि’, एमालेका एक पदाधिकारीले दृष्टिसँग भने । ती पदाधिकारीका अनुसार देशभरका कार्यकर्तालाई आगामी निर्वाचनको तयारी गर्न ओलीले निर्देशन दिइसकेका छन् ।

यही कुरा बुझेका सत्तारुढ दुई दल भने यतिबेला नजिक भएका छन् । सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) एक आपसमा नजिक भएका हुन् ।

माओवादीले सुटुक्क एमाले अध्यक्ष ओलीको साथ लिएदेखि नै एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव नजिक रहेका थिए । उनीहरूबीच सहकार्य गर्ने विषयमा पटक पटक छलफलसमेत भइसकेको छ ।

कुनै बेला माओवादी केन्द्रीय कार्यालयले नेकपा एससँग पार्टी एकीकरणकै लागि वार्ता समितिसमेत बनाएको अवस्था थियो । २०७९ पुस २३ गते बसेको बैठकले अन्य दलहरूसँग एकता र सहकार्यका लागि भन्दै वार्ता टोली गठन गरेको थियो ।
त्यतिबेला जसपालाई पनि सहकार्य मात्र नभइ पार्टी एकीकरणकै प्रस्ताव राखेको माओवादी अहिले भने यी दललाई छाडेर सत्ता जोगाउने र भोलि पुनः सत्तामा पुग्ने अभिलाषा राखेर एमालेसँग नजिक हुन पुगेको छ ।

त्यतिबेला उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । नेकपा (एकीकृत समाजवादी) ले पनि वाम एकताका लागि वार्ता टोली गठन गरेको थियो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले अन्य पार्टीसँग सहकार्य र एकताका लागि भन्दै कार्यदल बनाएका थिए ।

एकीकृत समाजवादीले महासचिव वेदुराम भुषाल संयोजक रहेको कार्यदल बनाएको थियो भने जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाएको थियो । यसरी दुई वर्ष अघि यी दलहरु एक आपसमा नजिक रहेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि एकीकृत समाजवादीसँग एकता गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा ठूलो हुने र अहिलेको अवस्थामा चौथो ठूलो दल हुने सपना बुनेका थिए ।

तर, राजनीतिक पण्डितहरुले एकीकृत समाजवादी माओवादीसँग भन्दा एमालेसँग बढी नजिक रहेकाले तत्काल कुनै पार्टीसँग एकता नगरी भविष्यमा एमालेमै समाहित हुने बताइरहेका बेला सरकारमा सँगै रहँदा एमालेसँग दुरी बढेर जसपासँग नजिक देखिएका छन् ।

सत्ताको छिनाझम्टीले नेपाल कम्युनिष्ट पार्टी विघटन भएयता एकअर्कालाई अपराधी करार गर्न अनेक लाञ्छना लगाएका ओली–प्रचण्डको सहयात्रामा दुई पार्टी अलग भएमा सरकार नै ढल्ने अवस्था रहन्छ । प्रधानमन्त्री पदलाई प्रतिष्ठाको सवाल बनाएका प्रचण्डले कांग्रेस र नेकपा एससहितको गठबन्धन तोडेर एमाले, रास्वपा, राप्रपालगायत ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेपछि नेता नेपालको मन कुँडिएकाले उनी अहिलेसम्म सकारात्मक बन्न सकेका छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव यतिबेला प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट बनेका छन् । पछिल्ला केही घटनाले यादव प्रधानमन्त्री र सत्ता गठबन्धनबाट टाढिन खोजेको देखिन्छ । जसपाका नेताहरूले भने सत्ता गठबन्धन र प्रधानमन्त्री प्रचण्डसँग पार्टी अन्सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन् । यादव यतिबेला अमेरिका भ्रमणमा रहेका छन् ।

पछिल्लो समय यादव सत्ता गठबन्धनमै रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष नेपालसँग निकै निकट देखिन थालेको मात्र होइन सहकार्यको विषयमा पनि कुराकानी गरिरहेका छन् ।

सत्ता गठबन्धनमै रहेका नेपाल पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र गठबन्धनको ठुलो घटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट छैनन् । नेपालले सत्ता सञ्चालनमा प्रचण्ड र ओलीले आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन् ।

जसपा र नेकपा एसले वर्तमान सत्ता गठबन्धन छाडेमा सरकार ढल्ने सम्भावना रहन्छ । यदि यो असन्तुष्टि बढ्दै गएमा सरकारको आयू कमजोर बन्ने निश्चित छ ।

प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन् । पछिल्लो संसदीय निर्वाचनअघि जसपा र नेकपा (एस) बीच पार्टी एकतासम्मको चर्चा भएको थियो । यी दुई पार्टीबीच एकता नभए पनि शीर्ष नेतृत्व नेपाल र यादवबीचको सम्बन्ध निकै राम्रो छ । प्रतिनिधिसभा सदस्यका लागि इलाममा हुन लागेको उपनिर्वाचनमा जसपाले एमालेका उम्मेदवारलाई सहयोग गरेनन ।

इलाम–२ मा एमाले विरोधी उम्मेदवारका रूपमा चिनिएका डकेन्द्रसिंह लिम्बूलाई जसपाले औपचारिक रूपमै सहयोग गर्यो । माओवादी केन्द्रले नेतृत्व गरेको लुम्बनी प्रदेश सरकारमा सहभागी भएको जसपाले मन्त्रालय भागबन्डामा मुख्यमन्त्रीले उपेक्षा गरेको भन्दै सरकार छाड्ने निर्णय गर्यो । जसपाका मन्त्रीले राजीनामा दिएका छन् ।

जसपाले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाए सरकारलाई दिएको समर्थन भने कायमै राखेको जसपाका नेताहरूले बताएका छन । जसपा लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्रबीच भएको सहमति माओवादीका मुख्यमन्त्री महराले उल्लंघन गरेको उनको आरोप छ ।

गत साउनमा प्रधानमन्त्री प्रचण्डले गौर घटनापीडितसँग पाँचबुँदे सहमति गरेपछि यादव झस्किएका थिए । त्यतिबेला पाँचबुँदे सहमतिको विषयमा आन्दोलन गर्ने भन्दै जसपाले एकमहिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको थियो । कार्यकर्तालाई प्रशिक्षण दिन यादव आफै मधेसका सबै जिल्ला पुगेका थिए। केही समयपछि पाँचबुँदे सहमति सेलाएपछि यादव पनि शान्त भएका थिए ।

अहिले फेरि गौर घटना ब्युँतिएको छ । अहिले सरकारले नभई अदालतले ब्युँताएको हो । केही दिनअघि सर्वोच्च अदालतले गौर घटनाका विषयमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । यसबाट यादव फेरि झस्किएको स्रोतको भनाइ छ । यादव गौर घटना ब्युँताउने पक्षमा छैनन ।

अदालतले गौर घटनाका विषयमा कारण देखाउ आदेश जारी गरेपछि यादव फेरि असन्तुष्ट बनेका छन् । अहिले यादव उप्रधानमन्त्रीसहित सरकारमा छन् । उनले रोजेको स्वास्थ्य मन्त्रालय पाएका छन ्। पार्टीमा उनीनिकट नवलकिशोर साह वनमन्त्री छन् । तर, विभिन्न घ्टाक्रमले नेकपा एस जसपालाई एक ठाउँमा पुर्याउन लागेको र यसपछि माओवादी सत्ता राजनीतिबाट बाहिरिदा अलमलमा पर्ने राजनीतिक विश्लेषकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्