Logo
Logo

अर्काको नागरिकता दुरुपयोग गरेर करोडौँ ठगी


378
Shares

काठमाडौं । अर्काको नागरिकता दुरुपयोग गरेर रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । उदयपुरका नारायणबहादुर राई र बझाङका पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेर करोडौँ रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

भट्टराईका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ र झापाका गौरादह नगरपालिका–२ घर भएका ४६ वर्षीय ईश्वरी पाण्डले नारायणबहादुर र पर्वतराजको नागरिकता प्रयोग गरेर पुतलीसडकमा नियोगी एजुकेसन प्रा.लि खोलेका थिए ।

राजनले नारायणबहादुरको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको छ भने ईश्वरीले पर्वराजको नागरिकता दुरुपयोग गरेको खुल्न आएको छ । पठाओ राईडर समेत रहेका नारायणबहादुरको नागरिकताबाट बैङ्कको केवाइसी फारम भरेका राजनले फोटो भने आफ्नै टाँसेको पाइएको छ ।

जापानमा पटाउँछौँ भनेर २ सय १९ जनाबाट ३ करोड ३७ लाख ठगी गरेको राजन र ईश्वरी माथि आरोप छ । राजनलाई कागेश्वरी मनोहरा स्थित बेशिगाउँ र ईश्वरीलाई अनामनगरबाट पक्राउ गरिएको भट्टराईको भनाई छ ।

आरोपीहरूले प्रतिव्यक्ति ४ लाखदेखि ७ लाख उठाउने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताए । अर्काको नाममा बैकका खाता खोलेर ठगीको रकम उनीहरूले ती खातामार्फत लेनदेन गर्ने गरेका हुन् । उनीहरूसँगै ठगीमा संलग्न अर्का एक जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्