Logo
Logo

मधेस केन्द्रित दलहरूको ‘छेपारे प्रवृत्ति’



काठमाडौं । मधेसी दलहरू जुट्नु र फुट्न कुनै नौलो कुरा होइन । विगतलाई नियाल्दा उनीहरूको प्रवृत्ति छेपारो झैँ छिनछिनमै रंग बदलिरहने देखिन्छ । फुट उनीहरूको एउटा ‘पहिचान’ नै बनिसकेको छ । 

इतिहासदेखि नै मधेसका नेता र पार्टीहरूमा फुट आइरहेको पाइन्छ । मधेसमा राजनीतिक प्रभाव २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रसले मधेस र मधेसी नेताहरूलाई न्यायोचित स्थान नदिएको उल्लेख गर्दै कुलानन्द झा र वेदानन्द झाहरूले तराई कांग्रेस गठन गरी निर्वाचनमा भाग लिएका थिए ।

निर्वाचनमा खासै सफलता प्राप्त गर्न नसके पनि तराई कांग्रेसले मधेसमा २७ हजारभन्दा अधिक भोट प्राप्त गरेको थियो ।

यस्तो छ मधेसी पार्टी विभाजनको शृङ्खला 

२०४६ सालमा नेपाली कांग्रेस त्यागेर गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् खोलेका थिए । २०४७ सालमा देशमा बहुदल आयो । परिषद् फेरिए नेपाल सद्भावना पार्टी भयो । त्यसका अध्यक्ष सिंह नै रहे । 

पछि सद्भावना पार्टी विभाजनको सिकार भयो । टुक्रा टुक्रामा विभाजित भयो । व्यक्तिको स्वार्थपिच्छे टुटफुट हुँदै २०५८–२०७० सम्म उक्त पार्टी नौ टुक्रामा विभाजित भयो ।

उपेन्द्र यादवले २०५४ सालमा मधेसी जनअधिकार फोरम गठन गरे । त्यसैबाट उनले मधेसमा आफ्ना गतिविधि बढाउँदै थिए । २०६३ सालको मधेस विद्रोहपछि भने फोरमले निकै चर्चा बटुल्यो । 

पहिलो संविधानसभामा फोरमका ५२ जना सभासद् बने । तर, पहिलो संविधानसभा निर्वाचन सकिएलगत्तै फोरम फुट्यो । २०६४ भदौमा भाग्यनाथ गुप्ता र किशोर विश्वासहरूले उपेन्द्रसँग असहमति जनाउँदै मधेसी जनअधिकार फोरम (मधेस) गठन गरे । 

त्यसपछि त फोरममा फुटको शृङ्खला चल्यो । महन्थ ठाकुर नेतृत्वमा ०६४ मंसिर तराई–मधेस लोकतान्त्रिक पार्टी गठन भयो । त्यही पार्टीमा पनि पटकपटक विभाजन आयो । विभिन्न फुट जुट हुँदै यो पार्टीको हाँगो अहिले लोसपाको रुपमा छ । 

अमर यादवले २०६५ चैत्रमा फोरम विभाजन गरेर मधेस तराई फोरम गठन गरे । नेपाली कांग्रेसका जेपी गुप्ता र विजयकुमार गच्छदारहरू पनि पार्टी छाडेर फोरम प्रवेश गरे । 

२०६६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकार ढलेपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भयो । उक्त सरकारमा सहभागी हुने÷नहुने विषयमा विवाद चर्किँदै जाँदा फोरम फेरि फुट्यो  । त्यसबेला विजयकुमार गच्छदारसहित २८ जनाले विद्रोह गरेर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे । 

माधवकुमार नेपालको सरकार ढलेपछि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बन्यो । त्यसबेला पनि विवादको मुख्य विषय सरकारमा सहभागी हुने कि नहुने भन्ने नै थियो । २०६८ जेठमा फोरम फेरि फुट्यो । जेपी गुप्ताले १३ जना सभासद् लिएर मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरे । फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले ०६९ पुस ११ गते उही नामको अर्को पार्टी गठन गरेका थिए ।

फुटको आरोह अवरोह फोरमले मात्रै खेपेन । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले पनि खेप्यो । तमोलोपाका तत्कालीन महामन्त्री महेन्द्रराय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल नयाँ दल गठन गरे ।

राजेन्द्र महतो नेतृत्वको सद्भावनाका नेता रामनरेश राय यादवले पार्टी विभाजन गरी २०६८ माघमा ‘राष्ट्रिय सद्भावना पार्टी’ खोल्न पुगे । 

रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्रराय यादवको ‘तमलोपा–नेपाल’बीच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो । त्यो पार्टीको अध्यक्ष बने महेन्द्रराय यादव । 

०७४ वैशाखमा ६ वटा मधेसकेन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), शरतसिंह भण्डारीको राष्ट्रिय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण भएर राजपा संसद्को पाँचौं ठूलो दल बन्न पुग्यो ।

सत्ताको भोक चरम सीमामा पुगेपछि दलहरू फुटको संघारमा पुग्ने गरेका छन् । २०७६ वैशाखमा संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बन्यो । 

२०७७ वैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बन्यो । 

बलियो मधेसी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेसँग मधेसमा खुसीको सञ्चार भयो । तर, फेरि जसपा फोरेर महन्थ ठाकुरले २०७८ भदौ २ गते जसपा नेपाल (लोकतान्त्रिक) गठन गरेका छन् ।

जसपाबाट फुटेर बनेको लोसपा पनि दुई वर्षमै फुट्यो । गत फागुन १४ गते लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरे । उनले अहिले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान चलाइरहेका छन् । 

आज (आइतबार) फेरि जसपा फुट्यो । जसपालाई फोरेर अशोककुमार राईले नयाँ पार्टी जन्माए । अशोकलाई सांसद  सुशीला श्रेष्ठ, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, नवनियुक्त समानुपातिक सांसद हसिना खानलगायत सात जनाले साथ दिएको छ

प्रतिक्रिया दिनुहोस्