Logo
Logo

जसपाको फुटले प्रचण्ड-ओलीलाई हाइसञ्चो !



काठमाडौं । जनता समाजवादी पार्टीको विभाजनले अर्को गठबन्धन र सरकार बन्ने सम्भावना तत्काललाई सकिएको छ ।

१२ सिट रहेको जसपा फुटेपछि अब उपेन्द्र यादव पक्षले समर्थन फिर्ता लिए पनि अहिलेकै सत्ता गठबन्धनको बहुमत रहिरहने हुँदा कांग्रेसको नेतृत्वमा बन्ने सम्भावित नयाँ गठबन्धनको बहुमत नपुग्ने देखिन्छ ।

सरकार चलाउन बहुमत अर्थात् एक सय ३८ जना सांसद चाहिन्छ । अब जसपा फुटे पनि र एकीकृत समाजवादी पार्टीले छाडे पनि अहिलेको सरकार नै बहुमतमा रहने देखिन्छ । किनकि १२ जना सांसद भएको जसपाका सात जनाले नयाँ दल दर्ताका लागि दिएको निवेदन स्वीकृत गर्दै निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको छ ।

नयाँ दलका सात जनाले अहिलेकै सरकारलाई समर्थन रहेको बताएका छन् । एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, जसपा फुटेर बन्ने नयाँ दलका सात जना जोड्दा एक सय ३९ सिट पुग्छ ।

त्यसमाथि उपेन्द्र यादव सरकारबाट बाहिरिनेबित्तिकै चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा आउने सम्भावना छ । तीन सिट रहेको नागरिक उन्मुक्ति पार्टी पनि अहिलेकै सरकारको पक्षमा छ ।

त्यसैले तत्काललाई हेर्दा जसपाको फुटले अहिलेको गठबन्धन सरकारलाई हाइसञ्चो भएको देखिन्छ । यसले वैकल्पिक गठबन्धन र सरकार बनाउन कोशिश गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपेन्द्रलाई गाह्रो पर्ने देखिन्छ ।

नेपालले त आफू पनि प्रधानमन्त्री बन्न सक्ने भन्दै प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई सार्वजनिक कार्यक्रमबाटै घुर्क्याइरहेका थिए ।

‘हामी प्रधानमन्त्री बन्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ, उनीहरूलाई पोले पोलोस्, डाहाको आगोले पोलिदेओस् । त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ, यो स्वाभाविक हो,’ उनले भनेका थिए ।

तर एकाएक परिस्थिति माधव नेपालको अनुकूल होइन, प्रतिकूलमा जाने लक्षणहरू देखिएका छन् । कांग्रेससँग मिलेर नयाँ गठबन्धनको सरकार बनाउने अनि देउवा मात्र होइन माधव र उपेन्द्रसमेत आलोपालो प्रधानमन्त्री बन्नेगरी भित्रभित्रै खिचडी पाकिरहेको शङ्का थियो ।

त्यही भएर त माधव नेपालले अहिलेको सत्ता गठबन्धनलाई घुर्क्याउनसमेत पछि परेनन् । तर राजनीतिका खेलाडी मानिने प्रचण्ड र ओलीले उल्टै नेपाल र उपेन्द्रलाई जिल्ल बनाउनेगरी जसपाभित्र खेलेर विभाजनसम्म पु¥याईदिए । यसले वर्तमान गठबन्धन टुट्ला कि भन्ने आशंकामा रहेका प्रचण्ड र ओलीलाई तत्काल राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्