Logo
Logo

सभामुख र शीर्ष नेताहरूबीचको छलफल जारी



काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीचको बैठक जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको उपस्थिति छ । बैठकमा सहकारी ठगी प्रकरणमा उच्चस्तरीय संसदीय छानविन समिति गठन गर्ने विषयमा सहमति जुटाउने प्रयास हुने छ ।

अघिल्लो अधिवेशन पनि सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि प्रतिपक्षी दल कांग्रेसले छानविन समिति बनाउन माग गर्दै संसद चल्न दिएको थिएन । त्यसपछि कांग्रेसको अवरोधकै कारण सभामुखले संसद नै अन्त्य गरेका थिए । यसपटक पनि कांग्रेसले आफ्नो माग पुरा हुनुपर्ने अडान कायम राखेको छ ।

यही वैशाख २८ गते संसद्को बर्खे अधिवेशन सुरु हुँदै छ । त्यसअघि सभामुख घिमिरेले सत्ता र प्रतिपक्ष दुवै दलका शीर्ष नेताहरूसँग सहकारी प्रकरण, बजेट लगायतका विषयमा सहमति जुटाउन छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्