Logo
Logo

सुनील पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड बिगो र जरिवानाको फैसला



काठमाडौं । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका नेपाल टेलिकमका निलम्बित महाप्रबन्धक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो । उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।

नेशनल पेमेन्ट गेटवे प्रकरणमा अदालतले पौडेललाई गत वैशाख ७ गते दोषी ठहर गरेपनि सजार्य निर्धारण गरेको थिएन ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको थियो ।

उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपनिर्देशक पदमा कार्यरत थिए । २३ करोड २७ लाख ५८ हजार तिरेर खरिद गरिएको सफ्टवेयर सञ्चालनमा नल्याएर रकम दुरुपयोग गरेको विशेष अदालतको ठहर छ ।

सो मुद्दामा ८ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा संजय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर ओली, रामशरण गायक, सफल श्रेष्ठ र मधु कुमार मरासिनी छन् ।

प्रतिक्रिया दिनुहोस्