Logo
Logo

कम्युनिष्टको प्रधान शत्रु कम्युनिष्ट नै


2.1k
Shares


इलाम र बझाङको उपनिर्वाचनलाई कतिपयले ‘मिनी जनमत’ पनि भन्ने गरेका छन् । इलाम र बझाङको मत परिणामले एमाले नै बलियो शक्ति भएको पुनर्पुष्टि गरेको छ ।

२०७४ सालमा करिब दुईतिहाइ मत पाएको एमाले–माओवादी गठबन्धन टिकेको भए, २०७९ को निर्वाचनमा पनि कम्युनिष्ट सरकारकै बहुमत हुन्थ्यो । वामपन्थीहरू एक ठाउँमा उभिँदा जहिले पनि सकारात्मक परिणाम आएको छ भने, वाम पार्टी फुट्दा त्यसको फाइदा विपक्षी दलले उठाउने गरेको छ ।

२०७९ सालकै निर्वाचन परिणामलाई फर्केर हेर्दा पनि वाम पार्टी मिलेको भए सामान्य बहुमत त सोझै आउने थियो, त्यसमा अलि बल गरे दुईतिहाइ आउन पनि बेर थिएन । त्यसैले ‘मिसन ८४’मा वामपन्थीहरूको दुई तिहाइको सरकार बनाउनेतर्फ अहिलेदेखि ‘होमवर्क’ गर्नुपर्छ भन्ने सन्देश पनि ‘मिनी जनमत’को हो ।

पुस ५ को प्रतिगमन कम्युनिष्ट आन्दोलनको लागि क्षति भयो । कम्युनिष्ट पार्टीलाई फुटाउन देशी–विदेशी शक्ति लागेकै थिए, त्यसको मोहरा बन्यो एमाले । जनताले ढुक्कसँग पाँच वर्ष काम गर्न जनादेश दिएको पार्टी एमालेको कारण भुईँ न भाँडो बन्यो ।

त्यही जगमा नयाँ–नयाँ पार्टी उम्रियो र त्यही झारपातको आडमा आज वाम सरकार टिकाउनुपर्ने बाध्यता छ । अर्कोतर्फ, प्रतिगामीसँग ०७९ को निर्वाचनमा एमालेले सहकार्य गरेको कारण प्रतिगामी पुनर्उत्थानवादी शक्ति पनि जुरमुराए ।

२०७९ सालकै निर्वाचन परिणामलाई हेर्दा पनि वाम पार्टी मिलेको भए बहुमत त सोझै आउने थियो, त्यसमा अलि बल गरे दुईतिहाइ आउन पनि बेर थिएन । ‘मिसन ८४’मा वामपन्थीहरूको दुईतिहाइको सरकार बनाउनेतर्फ अहिलेदेखि ‘होमवर्क’ गर्नुपर्छ भन्ने सन्देश उपनिर्वाचनले दिएको छ ।

यो एमालेले विगतमा गरेको अक्षम्य गल्ती थियो । जसको सजाय ०७९ को संघ र प्रदेशको निर्वाचनमा एमालेले दोस्रो पार्टी बनेर भोग्यो पनि । अब फेरि विगतका कमी–कमजोरी सच्याउँदै कम्युनिष्ट आन्दोलनलाई एकीकृत र बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने दायित्व इतिहासले एमालेलाई सुम्पिएको छ ।

पुष्पलालले जन्माएको, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूले हुर्काएको पार्टीप्रति आजसम्म आम जनताको आशा र भरोसा छ भन्ने कुरा इलाम र बझाङको मत परिणामले देखाएको छ ।

इलाम र बझाङको मत परिणामले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरुलाई पनि शिक्षा दिएको छ । यो देशको स्थायी जनमत कम्युनिष्ट र कांग्रेस नै हुन्, त्यसको विकल्प छैन भन्ने कुराको सन्देश पनि यो उपनिर्वाचन हो । ००७ सालदेखि ०६२–६३ सालको राजनीतिक परिवर्तनको संवाहक पनि यिनै दुई पार्टी हुन् । यी दुई पार्टीलाई आजको अवस्थासम्म ल्याई पुर्याउन धेरैले बलिदानी दिएका छन् ।

वर्षौं वर्ष जेलनेल भोगेका छन् । तर पनि यी दुई पार्टी सत्तामा हुँदा जनचाहना अनुरूप काम गर्न सकेनन् । सिद्धान्त, विचार र आचरण बिर्सेर सत्तालाई ‘लुट’को अखडा बनाउँदा देशको अवस्था आज यस्तो नाजुक बन्यो । यो कुरामा सबै नेताले आत्मसमीक्षा गर्नुपर्छ ।

नेपालका कम्युनिष्ट पार्टीहरू संसदीय राजनीतिमा आएपछि चरम अवसरवादी बनेका छन् । सत्ता र शक्तिका लागि जुनसुकै प्रतिक्रियावादी शक्तिसँग पनि सहकार्य गर्न तयार हुन्छन् । उनीहरूले वर्गीय चिन्तन भुलेका छन् । कम्युनिष्टको शत्रु कम्युनिष्ट नै बनेका छन् ।

यो चिन्तनले व्यक्तिलाई फाइदा भए पनि कम्युनिष्ट आन्दोलनलाई घाटा पु¥याइरहेको छ । राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन भन्ने गलत सोच बोकेर कम्युनिष्टहरु बुर्जुवा र प्रतिगामीसँग घाँटी जोड्न पुगेका छन् । यो विकृतिलाई हटाउँदै वर्गीय चिन्तनको आधारमा ढिलो चाँडो वामपन्थी पार्टी मिल्नुको विकल्प छैन ।

हिजो प्रतिगमनविरुद्ध उभिएका कम्युनिष्टहरु आज एमालेसँगै सरकारमा छन् । विगतको कुरा बिर्सिएर यही विन्दुलाई वाम गठबन्धनको प्रस्थान विन्दु बनाएर अगाडि बढ्ने हो भने वामपन्थीहरुलाई कसैले पराजय गर्न सक्ने छैनन् । त्यसका लागि कम्युनिष्ट नेता, कार्यकर्ताहरूमा उँचो नैतिकता र इमानदार छवि हुनुपर्छ ।

एकले अर्कालाई निषेध गरेर एक्लै सफलताको सिँढी चढ्छु भन्यो भने फेरि पनि त्यो भ्रम मात्र हुनेछ । भ्रममा बाँचेर कोही पनि सफल भएका छैनन् । नेपालकै राजनीतिक इतिहासले पनि यो कुरा प्रमाणित गरिसकेको छ । त्यसैले पनि वाम पार्टीहरू मिल्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्