Logo
Logo

दैलेखमा आगलागी हुँदा तीन करोडको क्षति



दैलेख । दैलेख सदरमुकामस्थित त्रिभुवन उमावि अगाडिका तीनवटा पसलमा आगलागी हुँदा झन्डै तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ । मंगलवार दिउँसो १ बजे साजन अटोपार्टसमा लागेको आगो सल्किँदै अन्य दुईवटा पसलमा पुगेको थियो । निभाउने प्रयास गरे पनि आगो सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पनि सल्किएको हो ।

आगलागीबाट साजन अटोपार्टसमा भएका सबै सामग्री जलेर नष्ट भएका हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै, सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियो पनि आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पसलमा राखिएका कुनै पनि सामग्री प्रयोगयोग्य छैनन्। सामान खरिदका लागि राखिएको नगदसहित करिब दुई करोडभन्दा बढीको क्षति भएको सम्झना इन्टरप्राइजेजका सञ्चालक भूपेन्द्र बिसीले बताए ।

आगलागलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा नारायण नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको छ। क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्