Logo
Logo

आज र भोलि यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना



काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायु तथा स्थानीय वायुका अतिरिक्त भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण पछिल्लो २४ घन्टामा देशका अधिकांश भागमा हल्कादेखि भारी वर्षा भएको छ ।

अहिले बिहान पनि पश्चिमदेखि पूर्वसम्मका धेरै भागमा वर्षा भइरहेको छ । मौसम विभागका अनुसार पछिल्लो १ घन्टामा डोटीमा ४.४ मिलिमिटर वर्षा भएको छ । गोरखाको सेतीबास केन्द्रमा ४.६, गोरखामा ३.६, लम्जुङको खुदीमा १.६, सिराहामा ०.६ मिलिमिटर वर्षा भएको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी भोलि बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, मधेस र बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्