Logo
Logo

पार्टी विभाजनविरुद्ध अदातल जाने तयारीमा जसपा, ११ बजे पत्रकार सम्मेलन गर्दै



काठमाडौं । पार्टी विभाजन भएप्छि पहिलोपटक आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

अशोक राई नेतृत्वमा ७ जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । तर, संसदको बर्खे अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेकाले बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकिर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुनविपरीत रहेको तर्क गर्दै आएको छ ।

मंगलबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले दल विभाजनविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले औपचारिकता दिने भएको हो ।

प्रवक्ता सुमनले भने ‘बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइने भएको छ । बैठकपछि पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ ।’ पत्रकार सम्मेलन अहिले बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजना गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्