Logo
Logo

जिउँदो भगवान



आमा तिमी जन्मदिने मलाई
आमा तिमी प्राण दिने मलाई
आमा तिमी बोट, म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो ।

युगकवि सिद्धिचरण श्रेष्ठको यो कविताले आमाको महिमा झल्काउँछ । ‘आमा’ शब्दले नै अगाध प्रेम र स्नेह बोकेको छ । आमाको त्याग, तपस्या र बलिदानको वर्णन गर्न सकिँदैन । ‘आमा’ शब्द नै उच्चारण गर्दा पनि उच्च सम्मान र न्यानोपन आभास हुन्छ ।

आमाका लागि आपसेआप हृदयबाट प्रेमरूपी, श्रद्धारूपी र भक्तिभावरूपी उद्गार निस्कन्छन् । आमाप्रतिको भाव र उद्गार शब्दमा जति व्यक्त गरे पनि शब्दले पुग्दैन । त्यसैले विश्वका प्रसिद्ध साहित्यकारहरूले पनि भन्ने गरेका छन्– आमाको महिमाबारे लेख्न शब्दको खडेरी हुन्छ । त्यसैले नेपोलियन बोनापार्टले भनेका होलान्– मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु ।

जब एक बालक जन्मिन्छ । तब उसले नयाँ संसार देख्छ । तर, आमाको अर्को संसार त्यही सन्तान हुन्छ । सन्तानलाई हुर्काउन आफ्ना सबै खर्च गर्छिन् । उनको लागि सबथोक सन्तान हुन्छ । सन्तान भइसकेपछि एउटी आमाको अर्को कुनै संसार हुँदैन !

हामी सबैलाई आमाले संसार देखाइन् । तातेताते गर्दै पाइला चाल्न सिकाइन् । नौ महिना गर्भमा राखिन् । हुर्किइन् । गास काटेर खुवाइन् । बालापनका हरेक इच्छा पूरा गरिदिइन् ।

आमा, सन्तानको लागि पहिलो पुस्तक हुन् । पहिलो गुरु हुन् । पहिलो साथी हुन् । पहिलो सल्लाहकार हुन् । हरेक पीडाको सारथि हुन् । पहिलो पनि औषधि पनि आमा नै हुन् । र, अँध्यारोको दीप हुन् । एक शब्दमा भन्दा सब थोक हुन्, आमा ।

त्यसैले त भनिन्छ– मातृ देवो भवः । अर्थात् आमा देवता हुन् । आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान आमालाई नै सुम्पिएका होलान् ।

यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीसँग गाँसिएको छ । मातातीर्थ औँसीका रूपमा वैशाख कृष्ण अमावश्यका दिनलाई मनाउने चलन छ । आमाको महत्त्व एवं गरिमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिन मनाइन्छ ।

यस दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमाप्रति सम्मान प्रकट गरिन्छ । मीठो खान र राम्रो नाना दिएर आशीर्वाद ग्रहण गर्ने चलन छ । टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई भेट्न नपाएकाहरूले विभिन्न माध्यमबाट पनि सम्झने गर्छन् ।

तर, आजकल आमाप्रतिको श्रद्धा र भाव व्यक्त गर्न पनि वार्षिक पर्व कुरेर बसेझैँ भान हुन्छ । मातातीर्थ औँसीको दिन सामाजिक सञ्जालभरि आमाको तस्बिर छरपस्ट हुन्छ ।

यता, ‘हेप्पी मदर्स डे’ भन्दै आधुनिक सन्तानहरू रमाउँछन् । उता, गाउँमा बुढी आमाको आँखा छोरा वा छोरीको बाटो हेरेर रसाउँछ । आमाको तस्बिर सामाजिक सञ्जालमा राख्नुलाई अन्यथा मान्न खोजेको होइन । देखावटीमा मात्रै नरमाउने भन्ने हो ।

सन्तानलाई आफ्नो सर्वस्व संसार ठानेर बसेकी हुन्छिन्, आमा । सन्तानमा पखेटा पलाउने बित्तिकै उडेर जान्छन् । त्यो हाम्रो बाध्यता पनि हो । आमाको सामप्यिमा बसिरहन मन कसलाई हुँदैन र ? तर, रहरभन्दा ठूलो बाध्यता हुन्छ ।

पखेटा लागेको सन्तान जहाँ पुगे पनि आमाले सन्तानको भलो नै चाहिरहेकी हुन्छिन् । सन्तानका हजारौँ गल्तीलाई माफ गरिदिन्छिन् । छोराछोरी जति नै ठूला, जान्ने सुन्ने भएपनि आमाको नजरमा सधैँ सानै हुन्छन् । तर, कतिपय छोराछोरी आफ्ना आमाबुबालाई धुरुधुरु रुवाउँदै हिँड्छन्  ।

आजकल हामी आधुनिक भएका छौँ । आमालाई स्याहारसुसार गर्ने र समय दिने फुर्सद छैन । धेरै आधुनिक सन्तान आधुनिक सहरमा बस्छन् । त्यसैले बढ्दै छ, वृद्धाश्रम । गरिबले भन्दा धनी, प्रतिष्ठित र इज्जतदारले बढी आमाबुबालाई वृद्धाश्रममा राख्ने गरेको पाइन्छ ।

सानो छँदा दाजुभाइ दिदीबहिनीबिच झगडा हुँदा सबैले भन्ने गर्छन्– आमा मेरी हुन् । ठूलो भएपछि, जिम्मेवारी बहन गर्न सक्ने भएपछि भाइभाइमा झगडा हुन्छ– आमा तेरी हुन् !

आज हामी जे गर्छौँ, त्यही कुरा हाम्रा सन्तानले पनि सिक्ने हो । यहीबेला एउटा कथा सम्झौँ– एक युवक आफ्ना बूढा बालाई डोकामा हालेर फाल्न लान ठिक्क पर्छ । यो सब उसको सानो छोराले हेरिरहेको हुन्छ । जब बाबु हजुरबुबालाई डोकामा बोकेर फाल्न जान तयार हुन्छ, तब त्यस बालकले भन्छन्– ‘बुबा, हजुरबालाई मात्र फालेर आउनू, डोकोचाहिँ घरै ल्याउनु है ।’ पछि तपाईँ बूढा भएपछि तपाईँलाई फाल्न लानुपर्छ  । त्यति बेला मलाई डोको चाहिन्छ ।’

सानो छोराको कुरा सुनेर बाबु तीन छक्क पर्छ । उसको घैँटामा घाम लाग्छ । उसले आफ्ना बाको राम्रो हेरविचार गर्न थाल्छ । यो कथा छोटो भएपनि सन्देश लामो छ । कुरा गम्भीर छ ।

आमाको मुख हेर्ने दिन केवल एउटा दिवस मात्रै हो । तिथिमितीले भेटेको एक दिन हो । खासमा आमाको मुख होइन, दुःख हेर्ने हो । हामीलाई जिन्दगी दिने आमालाई बुढेसकालमा माया दिन सकेनौँ भने सन्तानको औचित्य पनि रहँदैन । आमाको जस्तै निस्वार्थ भाव सन्तानमा हुन सके मात्र असल सन्तानको परिचय मिल्छ ।

बाल्यकाल छँदाका आमा मात्रै आमा होइनन्, वृद्ध हुँदा पनि आमा नै हुन् । त्यसैले वृद्ध हुँदा भार सम्झने होइन, भाग्य सम्झनु पर्छ । बूढो रुखले फल नदिए पनि शीतलता अवश्य दिन्छ । त्यसैले त भनिन्छ नि– अरूको लाख, आमाको काख ।

त्यसैले आमाको एक दिन मात्रै मुख हेरेर पुग्दैन, मुखभन्दा पनि विशेष दुःख हेर्नुपर्छ । आमालाई उपहारको भन्दा बढी खाँचो साथको छ । हेरचाह गर्ने मान्छेको खाँचो छ । सामाजिक सञ्जालमा तस्बिर राख्ने होइन, मनमा राख्ने सन्तानको खाँचो छ ।

त्यसैले आमाप्रतिको माया, साथ र सम्मान देखावटी नबनोस् । एक असल सन्तान बन्ने कोसिस गरौँ, आमाप्रति निभाउनुपर्ने कर्तव्य पालना गरौँ । सबै आमाहरूलाई आमाको मुख हेर्ने दिनको अवसरमा सम्मान तथा शुभकामना !

प्रतिक्रिया दिनुहोस्