Logo
Logo

सुदूरपश्चिममा उच्च सर्तकता


- दृष्टि न्युज/संवाददाता


डोटी, २६ चैत । छमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो ।
मानिसको बढी भीडभाड हुने यहाँका विभिन्न चोक तथा प्रमुख व्यापारिक केन्द्रमा व्यापकरूपमा प्रहरी परिचालनसहित जागरुकताका लागि माइकबाट सूचनासमेत प्रवाह गरिएको छ ।
अन्य जिल्लामा लकडाउन उल्लंघनको आरोपमा सयौँ सवारी साधन पक्राउ र दजनौँ स्थानीयवासी कारवाहीमा परे पनि डोटीमा भने अहिलेसम्म कुनै पनि व्यक्ति तथा सवारी साधन कारवाहीमा नपरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले नागरिकले लकडाउनको पूर्ण पालना गरेका बताउँदै भने, ‘उल्लंघन गरेको घटना कहीँकतै पाइएको छैन ।’
जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले अहिलेसम्म जिल्लामा कोरोनाको सङ्केत नदेखिएको जनाए । जिप्रका डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जोखिम नेपालमा नभित्रियोस् भन्दै लकडाउनमा कडाइ गरिएको बताए ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लकडाउनको निर्देशनलाई पूर्णरूपमा पालना गराउन जिल्लाका सुरक्षा निकाय कडाइका साथ लागेको जनाए ।
यहाँका उद्योग, व्यवसाय, पसलहरु पूर्णरुपमा बन्द भएका छन् । अत्यावश्यक दैनिक उपभोग्य गर्ने वस्तु अस्पताल सेवा, स्वास्थ संस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोलपम्प, फलफूल तथा तरकारी पसल भने निश्चित समय तोकिएर सञ्चालन गर्ने अनुमति दिइएको छ ।
सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेका लागि स्थानीय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरिरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारका लागि प्रेस पास उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएकालाई रिर्पाेटिङ गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सरकारले गरेको निर्णयको उल्लंघन गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा कारवाही गर्ने स्थानीय प्रशासनले योजना बनाएपछि बजारमा आवतजावत गर्ने तथा बिनाकाम घर बाहिर निस्किनेहरु बन्द भएका हुन् ।
प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले संक्रमण फैलन नदिन र नागरिक बचाउन सबैले नियमको पालना गर्न जरुरी रहेको बताए । कोरोना नियन्त्रणका लागि यहाँको प्रदेश तथा स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एक मात्रै कैलालीमा कोरोना रोगको संक्रमत फेला परे पनि अन्य ठाउँमा फेला परेका छैनन् । यहाँको प्रदेशबाट ४० जनाको स्वाब परीक्षण गरिए पनि चार जनामा कोरोना पोजेटिभ देखिएको छ ।
अन्य ३६ जनामा नेगेटिभ देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाइएको छ । निर्देशनालयका अनुसार कोरोनाको संक्रमण देखिएका निज बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्