Logo
Logo

नेपालमै अब हुन्डाई गाडी एसेम्बल, प्रधानमन्त्रीद्वारा प्लान्टकाे उद्घाटन



नवलपरासी। दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । उक्त प्लान्टको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उद्घाटन गरेका छन् ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्लान्टको उद्घाटन गर्दे प्रधानमन्त्री प्रचण्डले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले आर्थिक विकास गरेर देशलाई समृद्धि यात्रामा आगाडि बढाइने बताउँदै निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको सुदृढीकरण गर्दै लगानी सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यविना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन् । देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’

नेपालमै एसेम्बल गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत् खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ छ ।

उनले नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे । औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्