Logo
Logo

२१ करोड तिरेपछि टेलिकमलाई मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति



काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति प्राप्त गरेको छ । यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर शुक्रबार तिरेको छ ।

प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए । योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो ।

नेपाल टेलिकमले २९ वैशाख २०५६ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । सो लाइसेन्सको अवधि शुक्रबार (आज) सकिँदै थियो । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनका लागि दूरसञ्चार ऐन २०५३ को दफा २० को अधिकार प्रयोग गरी सो निर्देशन दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

लाइसेन्सको अवधि सकिँदै गर्दा नेपाल टेलिकमले प्राधिकरणलाई नवीकरण शुल्कबापतको २० अर्ब रुपैयाँ गत मंगलबार भुक्तानी गरेको थियो । टेलिकमको नयाँ लाइसेन्सको अवधि र दस्तुरमा अहिले पनि नीतिगत अन्योल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्