काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिने तयारी गरेका छन् ।
सरकारबाट समर्थन फिर्ता लिने विषयमा अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

मधेस प्रदेशमा नेकपा माओवादी सरकारबाट बाहिरिइसकेपछि जसपाले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । मधेस सरकारबाट आज (आइतबार) मात्रै माओवादी केन्द्र बाहिरिएको छ ।
नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मधेसमा जसपा नेतृत्वको सरकारबाट बाहिरिए नयाँ सरकार बनाउने तयारी एमाले–माओवादीले गरिरहेको छ ।
सरकारबारे निर्णय गर्ने नै जसपा नेपाका अध्यक्ष उपेन्द्र यादवले इमर्जेन्सी बैठक बोलाएका थिए । अध्यक्ष यादवले आज माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए । सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनले पार्टीको बैठक बोलाएका हुन् ।














