काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गरेका छन् ।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका छन् । यही बेला प्रधानमन्त्री दाहालले आज बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने बताए ।
आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि प्रधानमन्त्री दाहालले कांग्रेससँग सोमबार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने पनि बताए ।
उनले भने, ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल गरेको छु । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’
यता, प्रधानमन्त्री दाहालसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री प्रचण्डसँग सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।














