Logo
Logo

पुराना-नयाँ सबै मिलेर लुटे


3.2k
Shares

हरेक समाजमा खराबभन्दा धेरै गुणा बढी असल मानिस हुन्छन् । तर, उनीहरूले अरूलाई असर पर्ने काम नगर्ने भएकाले त्यसको प्रभाव देखिँदैन । प्रभाव देखिने भनेको समाजका केही खराब मानिसका कुकर्मले हो । जसको असरका कारण समाजमा खराब नै धेरै भइरहेको देखिन्छ र समाजमा खराब मानिस नै बढी हुन्छन् कि जस्तो लाग्छ । तर, त्यो यथार्थ हैन ।

यथार्थचाहिँ के हो भने ती खराब मानिसले आफूलाई पनि खराब गरिरहेको हैन भनेर देखाउन अरूलाई पनि खराब देखाउने दुष्प्रयत्न गरिरहेका हुन्छन् । आमसञ्चारमा ट्रायल बलुन भनिने त्यस्तो दुष्प्रयासका कारण समाजमा एक किसिमको सामान्यीकरण हुन्छ । जसले गर्दा सबै उही त हुन् नि, कम्बल ओढेर घ्यू खान्छन् वा मौका नपरुन्जेल ज्ञानी हुन्छन् भन्ने खालको भाष्य निर्माण हुन्छ ।

अहिले नेपाल त्यही भाष्यको सिकार भएको छ । र, यो भाष्यको प्रभाव यति धेरै छ कि जो कोहीलाई पनि साँच्चै नै त्यस्तै हो कि भन्ने लाग्छ । यो भाष्य निर्माण गर्न मूलतः सबै खाले मिडिया दोषी छन्, त्यसमा पनि सामाजिक सञ्जाल र वैकल्पिक मिडिया भनिने युट्युबहरू बाँदरको हातमा नरिवल नै भएका छन् ।

मिडियाको न्यूनतम काम के हो भन्ने पनि थाहा नभई हरेक मानिस मिडियाकर्मी भइदिँदा सिर्जना भएको दुःखद परिस्थिति हो यो । अहिले सबैको हातमा स्मार्टफोन छ । माध्यमको अर्थमा यो पनि मिडिया नै हो । आमसञ्चारका महापण्डित म्याक्वेलले भनेजस्तै हरेक मिडियम मिडिया हुँदा आज समाज रमाउन पाइरहेको छैन, दुष्परिणाममा पीडावोध गरिरहेको छ ।

पछिल्लो समय नेपालका हरेक संस्थाहरू केही साँच्चैको घटना र केही सामान्यीकरणका कारण प्रश्नचिन्हमुनि छन् । नेपाल सानो छ, यसको भोगचलन गर्ने सुकिलोमुकिलो वर्ग त झन् सानो छ । संख्यामा गन्दा नेपाल राज्यको धेरैजसो स्रोत, साधनको डाडुपन्यू लिनेको संख्या दुई हजारकै हाराहारीमा होला । दोहन यिनैले गरेका छन् र नेपालमा सबै उस्तै हुन् भन्ने भाष्यको ट्रायल बलुन बनाउन उनीहरू सफल पनि भएका छन् ।

२०७९ सालमा नेपालमा सबै पुराना उस्तै हुन् भन्ने भाष्य बनाइयो । त्यही भाष्यले केही नयाँलाई वैतरणी ता¥यो । तर, ती नयाँहरू एक वर्ष नपुग्दै पुराना भए । केही मानिसका विगत, नियत र ल्याकतजन्य कमजोरी थिए तर त्यति मात्र पूरै कारण थिएनन् । हाम्रो अपेक्षा पनि व्यवहारिक थिएन र निर्णय पनि सही थिएन ।

हामीले नयाँका नाममा प्रजापतिको चक्र घुमाउने सिपालु हात चाहिने ठाउँमा माइक फुटाउने गरेर बोल्नमा माहिरलाई पठायौ । जानेलाई पनि के भ्रम भयो भने बोल्नमा गिजिन बुक रेकर्डधारी म, जाबो प्रजापतिको चक्र चलाउन नजान्ने कुरा हुन्छ र ? तर, यथार्थमा त्यस्तो हैन, प्रजापतिको चक्र र बुम फरक कुरा हुन् । ती चलाउन सम्बन्धित क्षेत्रकै सैद्धान्तिक र व्यवहारिक ज्ञान चाहिन्छ ।

यो यथार्थ बुझ्न समय लाग्छ तर केहीलाई समयको हेक्का नै छैन । उनीहरूलाई ‘तातै खाऊँ, तातै जलिमरूँ’ भएको छ । तर, त्यस्तो कहाँ हुन्छ र केही चिज पनि पाक्न न्यूनतम समय त लाग्छ । त्यही समयको हेक्का नहुँदा नेपाली जनता पटकपटक कट्मिरो खाइरहेको छ । परिणामतः राज्यकै पेट र स्वास्थ्य बिग्रिरहेको छ ।

अहिले पनि २०७९ को चुनावको कट्मिरोले पेट बिग्रिरहेको छ । चुनाव पनि के भन्नु र ? लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास चुनाव नै नेपालमा बदला लिने मौका लिएर आउँछ । हरेक चार वर्षमा जनता जनार्दन हैन, बदला लिने दुस्मन जस्ता हुन्छन् । चुनावलाई हरेकचोटी आफ्नो पेटी स्वार्थमा बदला लिने मौका बनाएपछि के हुन्थ्यो र? हुने भनेको भाँडभैलो र देशलाई अर्को प्रयोगशाला बनाउने नै हो ।

२०७९ को चुनावमा नयाँ र स्वतन्त्रका नाममा अर्को प्रयोग भयो । पुरानासँग बदला लिन नयाँ पठाएको, नयाँ त झन् एक वर्षमै जडौरी भए । किनकि, अपवादलाई छोडेर नयाँसँग योग्यता, अनुभव, त्याग, समर्पण, इतिहास केही थिएन । बोल्नु र नयाँ हुनु नै सबैभन्दा ठूलो योग्यता थियो । नेपालजस्तो डेलिभरीको समस्या भएको देशका लागि यी कुनै योग्यता नै हैनन्, साँच्चै भन्नुपर्दा अयोग्यता हुन् यी ।

नेपाली जनताले पुरानासँग बदला लिने नाममा नयाँ पठाएर गरेको प्रयोगको परिणाम अहिले देशले भोगिरहेको छ । चलचित्रको भाषामा यो त कास्टिङ मात्र होला जस्तो छ, यसैको लिनियर ढाँचामा चलचित्र बनेको छ र त्यो अरू तीन वर्ष नै हेर्नुपर्ने हो भने नेपाल नामको चलचित्र घर र नेपाली जनता नामका दर्शकको हरिबिजोग मात्र हुने हो । यति भन्नलाई कुनै आइतबार पर्खनै पर्दैन ।

राजनीतिमा सधैँ एउटा प्रश्न हुन्छ, जनता अनुसार नेता हुन्छन् कि नेताअनुसारका जनता ? यो अर्को यस्तै प्रश्न ‘अण्डा पहिले कि कुखुरा’ भने जस्तै हो । तर, पनि राजनीति शास्त्रको एक डक्ट्रिनले जनताअनुसारकै नेता हुन्छन् भन्छ ।

यदि, यो डक्ट्रिनलाई मान्ने हो भने अहिले नेपाली जनताले आफू अनुसारकै नेता पाएका छन् । पुरानालाई त बिग्रन यतिका वर्ष लागेको थियो किनकि उनीहरूले आजको व्यवस्था ल्याउन केही योगदान गरेका थिए, उनीहरूसँग इतिहास र योगदान भएका राजनीतिक पार्टीहरूको सिद्धान्तको डोरो र केही राजनेताहरूको विरासत पनि थियो ।

त्यो लाज राख्न पनि उनीहरू किस्ताबन्दीमा बिग्रिए । तर, अहिलेका नयाँसँग न कुनै लाज छ, न कुनै स्वाभिमान ? उनीहरू पुरानाले लुटे भन्ने भाष्य बनाएर गएका थिए, लुट्नेलाई रोक्लान् कि भनेको लुट्नेकै मतियार भएर लुट्न थाले ।

नयाँहरूका सबैभन्दा ठूला मोहोरा रवि लामिछानेको पछिल्लो स्थिति हेर्दा त यस्तो लाग्छ, उनी लुट्नकै लागि गएका रहेछन् । अहिले उनी एक किसिमले सिधै भनिरहेका छन् कि पुरानाले लुट्दा हुने नयाँले नहुने ?

रवि लामिछानेको सहकारी प्रकरण त्यस्तै एउटा लुटाहा प्रकरण हो । जगजाहेर छ, रविले जीवी राईको नेटवर्किङ ग्याङलाई ग्यालेक्सीमा एक किसिमले फसाएका थिए । गैरकानूनी धन्दा गर्ने त्यो ग्याङलाई आफूलाई जोगाउने शक्ति चाहिएको थियो । रविले बोलेर त्यो शक्तिको छनक दिएका थिए ।

त्यही चटकमा परेर जीवी ग्याङले ग्यालेक्सी नामको सेतो हात्ती पाल्ने महँगो सपना देख्यो । तर, रविका लागि त्यो राजनीतिमा चढ्ने भर्याङमात्र थियो । उनी त्यसका लागि प्रतिबद्ध र इमानदार थिएनन् ।

अझ, ग्यालेक्सीमा चारैतिरका सहकारीको पैसा खन्याउँदा पनि त्यसले कुनै रङ ल्याउने नदेखेपछि उसले त्यहाँबाट निस्कन उत्तम ठानेँ । उनलाई लाग्यो, त्यतिबेलासम्मको सफलताले चुनावको वैतरणी तारिहाल्छ, त्यसपछि भविष्यमा असफलताको भारी पनि बोक्नु पर्दैन ।

रविले ग्यालेक्सीको तर जति आफैँ बोके र जीवी ग्याङलाई पिलन्धरे मोही छोडेर हिँडे । आफू मात्र हिँडेनन्, भएभरका सहकर्मीलाई पनि लिएर त्यसैलाई रास्वपा पार्टी र केन्द्रीय समिति बनाइदिए । त्यसपछि हुने भनेको त अहिले भइरहेजस्तै ग्यालेक्सीको बरबादी थियो, जुन भयो ।

मेरो विचारमा रवि नेपालको कमजोर राज्य संयन्त्रको सबैभन्दा धेरै फाइदा लिने एक वाचाल खेलाडी हुन् । अमेरिकी नागरिकका रूपमा अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर त्रिभुवन विमानस्थल अध्यागमनबाट नेपाल पसेको एक अमेरिकीले रविले नेपाली अनुहार भएकै नाममा के गरे भन्दा पनि के गरेनन् भन्ने स्थिति छ ।

अमेरिकी नागरिकता लिइसकेपछि स्वतः निष्क्रिय भएको कागजको खोस्टालाई नेपाली नागरिकता बनाएर नयाँ नेपाली पासपोर्ट लिए, त्यही नागरिकताले ग्यालेक्सीको १५ प्रतिशतको मालिक र प्रबन्ध निर्देशक भए, त्यही नागरिकताले पुरानो श्रीमतीसँग पारपाचुके गरे, नयाँसँग विवाह दर्ता गरे ।

त्यति मात्र हैन, त्यही नागरिकताले दल दर्ता गरे, सभापति भए, छानिछानी सांसदको उम्मेदवारका लागि सहीछाप गरे, समानुपातिकको उम्मेदवारी दिलाए । चुनाव जितेर देशको गृहमन्त्रालय हेर्ने उपप्रधानमन्त्री नै भए ।

पछि एकजना सर्वसाधरण नेपाली सर्वोच्च अदालत गएपछि सारा भण्डाफोर भयो । उनले एक गैरनेपालीको हैसियतमा यी सबै गरेको सर्वोच्च अदालतले नै प्रमाणित गरिदियो । नेपालको राज्य संयन्त्र यति बढी कमजोर खेलौना भएको रहेछ भन्ने योभन्दा ठूलो प्रमाण के हुन्छ ?

यो विवरणको दृश्यको मात्र कल्पना गर्नुस् त यो कुनै नटवरलालको कथाभन्दा कम छ ? छैन, यसका लागि रवि त रवि भैगए, उनको के कुरा गर्नु ? उनको त नियत नै छर्लङ्ग भइसक्यो, प्रश्न राज्य संयन्त्रको हो । नेपाल भन्ने देशको राज्य संयन्त्र नै यति कमजोर रहेछ कि आज रविले गरे, भोलि अर्को कवि वा छविले गर्ने रहेछ । हुनसक्छ अहिले पनि कसैले गरिरहेकै होला ।

यो स्तम्भकारको विचारमा रवि महत्वाकांक्षा र नियतिले खेदिरहेको एक कमजोर पात्र हुन् । जानेर वा नजानेर र कहिलेकाहीँ धेरै महत्वाकांक्षी र बाठो भएर उनी यस्तो डिलमा धकेलिएका छन् कि अब उनलाई फर्केर आउनै सहज छैन । नेपालबाट अमेरिका आउँदा होस् वा अमेरिकाबाट नेपाल जाँदा उनले अर्को उपाय नभएको बेला ती विकल्प रोजेका हुन् ।

अहिले सरकारमा जानु र सरकारको वफादार हुनु पनि त्यही नियतिको निरन्तरता हो । उनलाई थाहा छ, उनको विगत यति विवादास्पद र गैरकानूनी कामहरूले भरिएको छ कि उनी कुनै पनि बेला जेल जान सक्छन् । बाध्यताको नाम राम भनिन्छ नि, रवि पनि आफूलाई बचाउन जे पनि गर्ने र जे पनि भन्ने अवस्थामा पुगेका छन् ।

दुःख त ती मान्छेहरूको अनुहार देखेर लाग्छ, जो यति गैरकानूनी काम गरेको र विवादास्पद व्यक्तिलाई नेता भनेर काँध हालेर हिँडिरहेका छन् । अझ, रविलाई भगवान् भनेर रातदिन उनको पछि लागेर कालोलाई सेतो भनिरहेका छन् ।

अरू के भनौँ, ती चितवनका जनता जसले दुई–दुई पटक त्यति प्रचण्ड बहुमत दिएर पठाए । तर, भयो के जसले नो नट एगेन भन्यो, नानीका बाबु भन्यो अरू पनि के के भन्यो अहिले उसकै कारिन्दा भएको छ । योभन्दा पाखण्ड के हुन्छ? अझै भनिरहेकै छन्, यो संसारमा रविसँग एउटै चिज छ, त्यो हो इमानदारिता । यदि इमानदारिताको परिभाषा यही हुने हो भने बेइमानीको परिभाषा के हुने होला ?

अहिले उनै रविको शरीरभरि लागेको सहकारीको फोहोर धुन ओली र प्रचण्ड ज्यान दिएर लागेका छन् । आखिर के का लागि ? प्रचण्ड केही समयका लागि प्रधानमन्त्री हुन र ओली त्यसपछि प्रधानमन्त्री हुने उधारो आश्वासनका लागि त हो । नैतिक रूपले यति तन्नम नेता र राज्य संयन्त्रको दोहन त यो स्तम्भकारले अहिलेसम्म कहिले देखेको थिएन । याद गर, समयले तिमीहरूसँग हिसाब माग्ने छ ।

प्रतिक्रिया दिनुहोस्