Logo
Logo

रविलाई सिध्याउन गगनको उपयोग


1.6k
Shares

देशको राजनीतिक आकाशमा संकटको कालो बादल छाएको छ । कतिबेला घनघोर वर्षा हुने हो, यसै भन्न सकिने अवस्था छैन । तर, एकपछि अर्को गरेर घटिरहेका घटनाहरूले देशको मौसम बिगारिरहेको र कुनै पनि बेला घनघोर वर्षा हुने सम्भावना बढ्दो छ ।

२०७९ सालको आमचुनावमा बनेको गठबन्धन दोस्रो पटक भत्किएको छ । योसँगै बनेको सत्ता गठबन्धन यति जोखिमपूर्ण छ कि अब यो न अगाडि बढ्ने स्थितिमा छ न पछाडि । अब संसदमा कुनै स्वाभाविक अंकगणित नै बाँकी छैन, जसले यसलाई सही बाटोमा ल्याएर २०८४ सम्म अगाडि बढाओस् ।

यो सबै घटनाक्रम केपी शर्मा ओलीको मध्यावधि चुनावको चक्कर हो । उनी संसदमा सबैभन्दा ठूलो दल बन्ने र त्यही हैसियतमा अल्पमतको सरकार बनाएर देशलाई पुनः मध्यावधिमा धकेल्ने सुनियोजित रणनीतिमा उनी लागिरहेका छन् ।

यसका लागि केही समयअघि भएको इलाम र बझाङको उपनिर्वाचनको जीतले उनलाई थप हौस्याएको छ । सँगै, थाहा पाएर हो वा नपाएर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनका लागि काँध थापेर अगाडि बढिरहेका छन् । साँच्चै भन्ने हो भने अहिले ओलीले प्रचण्डको काँधमा बन्दुक राखेर मध्यावधिको दिशामा फायर खोलिरहेको जस्तो देखिन्छ ।

ओलीले अहिले प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री र मिसन ८४ मा सहकार्यको चिनी चटाइरहेका छन् । त्यही चिनीमा लठ्ठिएर प्रचण्ड पनि ओलीका लागि जसो जसो पुरेत बाजे उसै उसै स्वाहा गरिरहेका छन् ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल विभाजन एमालेलाई संसदमा सबैभन्दा ठूलो दल बनाउने प्रयोजनका लागि हो । माधव नेपालको नेकपा (एकीकृत समाजवादी)लाई लामो समयको पहलपछि पनि विभाजन गर्न नसकेपछि यादवको जसपा ओलीको निशानामा प¥यो ।

अशोक राई पूर्व एमाले उपाध्यक्ष हुन् । २०७९ को चुनावमा एमालेसँग तालमेल गरेर राईले सुनसरी १ बाट चुनाव जितेका थिए । यसमा ओलीको ठूलो कृपा थियो । यी राईले श्रीमती सुशीला श्रेष्ठलाई सांसद बनाउन पाए जे पनि गर्छन् । जसपा नेपालबाटै उनी समानुपातिक सांसद छिन् ।

अहिले जसपा नेपाल टुक्र्याउन उनको त्यो सांसद पद पनि निर्णायक भयो । अहिले त उनी श्रीमान् अध्यक्ष रहेको टुक्रे जसपाकी उपाध्यक्ष नै भएकी छिन् । यो स्तम्भकारलाई बाबुराम–हिसिला र अशोक–सुशीला उस्तै उस्तै लाग्छ। खाऊ भने दिनभरिको सिकार, नखाऊ भने कान्छा बाबुको अनुहार ।

ओलीको सेटिङमा यो टुक्रे जसपा एमालेमा मिसिएपछि अशोकको राजनीतिक यात्रा एमालेदेखि एमालेसम्म भएर विसर्जन हुन्छ । सुवास नेम्बाङ दिवंगत भएपछि खालि भएको उपाध्यक्ष पद अशोकका लागि च्यासलमा पर्खेर बसिरहेको छ ।

एमालेको जनजाति चेहरा अशोक एमाले छोड्दा नै उपाध्यक्ष थिए । अहिलेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अरू उपाध्यक्षहरू उनीभन्दा कनिष्ठ भएकाले प्रोटोकल मिलाउन अप्ठ्यारो होला । तर, ओलीको बोली नै विधिविधान हुने एमालेमा अर्को एक वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर एक नम्बर वरिष्ठ उपाध्यक्ष बनाएर पनि एमालेमा अशोक मिलान सम्भव छ ।

अहिले नै टुक्रे जसपाकी उपाध्यक्ष रहेकी श्रीमती सुशीला पनि स्थायी समिति सदस्य त भइहाल्छिन् । यसै पनि उनी एमालेमा ठूलो योगदान भएकी नेतृ हुन् । उपाध्यक्ष नै बनाए पनि फरक नपर्ने योगदान र इतिहास छ उनको । उनको समस्या जताजता श्रीमान् उतैउतै भएर भौँतारिनु मात्र हो ।

यसरी जसपाका सात सांसद थपेर एमालेलाई ८६ सदस्यीय बनाएपछि संसदमा सबैभन्दा ठूलो दल बनाउन चार सांसदको कमी हुन्छ । त्यसका लागि उनले दोस्रो चरणमा नेकपा एकीकृत समाजवादीलाई टुक्र्याउन अनेक निन्जा टेक्निक लगाउँछन् ।

माधव नेपाललाई एक्लाउन बाँकीलाई अनेक पदका चारो हालेपछि त्यहाँ पनि काम तमाम हुन्छ भन्ने ओलीलाई थाहा छ । एमाले हुँदै उनले सबैको नाडी छामिसकेका छन् । अहिले पनि हरेक दिनजसो नेकपा एसका कुनै न कुनै तहका नेता कार्यकर्ता एमालेको हरियो घाँसतिर मुन्टो बटारिरहेकै छन् ।

यति गर्दा पनि एमाले संसदमा ठूलो पार्टी बनेन भने प्रचण्डलाई पाँच वर्षे प्रधानमन्त्रीको घाँस हालेर माओवादीसँग एकता गर्छन् । एकता टिक्यो भने टिकी हाल्यो, टिकेन र फेरि टुट्यो भने पनि माओवादीका ३२ मध्ये ८–१० सांसद त ओलीतिर अल्झिहाल्छन् ।

यति काम तमाम गरिसकेपछि उनले फेरि एकपटक प्रचण्डतिर लात्तिफ्याक गर्न सक्छन् वा २०८४ को वैतरणी देखाएर उनलाई साइजमा ल्याउँछन् । त्यसपछि ओली सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेता हुन्छन् र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिन्छन् ।

अनि उनको सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री हुने ढोकाको भोटे ताल्चा खुल्छ । राष्ट्रपति रामचन्द्र पौडेलले केही दिन लम्ब्याउन सक्छन् । त्यसो गर्दा पनि प्रचण्डकै प्रधानमन्त्री लम्बिने हो । अन्ततः संवैधानिक अदालतमा पुग्छ मुद्दा । अहिलेको अदालतको अनुहार घामतिर फर्केको घामजतिकै सत्य छ । त्यहाँबाट के हुन्छ?, यसका लागि अब नेपालको कानुन दैव जानुन् भन्ने अवस्था नै छैन ।

ओलीलाई थाहा छ, यति गरेर मात्र पनि उनको मिसन ८४ को वैतरणी पार लाग्दैन । त्यसका लागि नयाँ भनिएका रवि लामिछाने र उनको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि साइजमा ल्याउनुपर्ने हुन्छ ।

राम्रैसँग रविको नाडी छामिसकेका ओलीले रविलाई त्यति बेलासम्ममा पूरै साइजमा ल्याइसकेका हुनेछन् । अहिले नै उनले रविलाई आधा साइजको बनाइसके । मानिसहरू भन्न थालिसके, जताजता ओली, उतैउतै रवि । केहीले त रास्वपालाई भाइ एमाले नै भन्न थालिसके ।

२०७९ को चुनावमा केपी बा, नानीको बा भन्दै घाँटीका नशा फुलाउने रविका लगभग सबै नशा सुकिसक्यो । चुनावपछि ती बाहरूकै कोपरा सोर्न पुगेका रविका हात फोहोर भैसकेका छन् । जनता उनका ती गन्धे हात सुँघ्न तयार छैनन् ।

रविका लागि २०७९ को चुनावी परिणाम नै न भूत न भविष्य हो । अब उनी विगत भइसके । इलामको उपनिर्वाचनले ऐना देखाइसकेको छ । अब २०७९ को अवस्था दोहोरिने अवस्था छैन । नयाँ र पुरानोको घेरा उनले आफै मेटाइसके । स्वतन्त्र भन्नेको अध्याय पनि बन्द भइसक्यो ।

वैचारिक आधार बिना गरिएको चुनावपूर्वको गठबन्धनको मूल्य पनि नेपालले चुकाइसक्यो । पुराना पार्टीका बागी र अन्तरघाती नेता, कार्यकर्ता र तिहुनचखुवा मतदाताले पनि बुझिसके । उनीहरू भड्किदा सबैभन्दा बढी च्याखेदाउ बल्झाएका रविको सक्कली अनुहार पनि देखिसके ।

यद्यपि, रवि अहिले पनि २०७९ को चुनावी परिणामको तन्द्राबाट ब्युँझन सकेका छैनन् । उनी २०८४ मा घण्टीको बहुमत र आफू प्रधानमन्त्री हुने सोम शर्माको सपना देखिरहेका छन् । उनलाई सपनामा राख्न पनि ओली सफल छन् । ओलीले मध्यावधि चुनाव भए रास्वपालाई नै सबैभन्दा बढी फाइदा हुन्छ भनेर उक्साइरहेका छन् ।

अहिले ओली देशलाई मध्यावधिको बाटोमा घिसारिरहेका छन् । यसका लागि पुष्पकमल र रवि प्रयोग भइरहेका छन् । रवि त ओलीको पिँजडामा छन् । तर, प्रचण्डले कुनै पनि बेला उपद्रो अर्थात् उनकै भाषामा उथलपुथल गर्न सक्छन् ।

उनी राजनीतिमा जे पनि हुन्छ र कोही पनि स्थायी शत्रु वा मित्र हुँदैन भन्ने भनाइका सबैभन्दा ठूला पक्षधर हुन् । उनले भनेकै छन्, म मेरो पार्टीको हितका लागि जे पनि गर्न सक्छु । उनको पार्टी भनेकै प्रचण्ड हो । यसको अर्थ प्रचण्डको हितका लागि उनी कुनै पनि बेला जे पनि गर्न सक्छन् ।

ओलीले मध्यावधिको बाटोमा दौडाइरहेको देशलाई ब्रेक लगाउन सक्ने भनेको प्रचण्डले नै हो । र, उनले कुनै पनि बेला कांग्रेससँग कुम जोडेर ओलीलाई ठिङ्गा देखाउन सक्छन् । यसका बारेमा ओली पनि जानकार छन् । तर, उनलाई प्रचण्डको घाँस के हो भन्ने पनि थाहा छ । एक मुठा प्रधानमन्त्रीको घाँस भएपछि पुष्पकमल उघ्राइहाल्छन् । त्यसबाहेक जे दिन पनि उनी तयार हुन्छन् ।

नेपाली कांग्रेस आफैँ विभाजित छ । संसदमा सबैभन्दा ठूलो दल भएर पनि त्यसको पाइन ऊसँग छैन । पार्टी विभिन्न गुट उपगुटको मोर्चा जस्तो छ । अन्तरघात कांग्रेसको दीर्घ रोग हो । यसका नेताहरू अनेक काण्डमा मुछिएका छन् । पार्टी सभापति देउवा आफैँ यो दलका सबैभन्दा कमजोर कडी हुन् ।

सम्भवतः उनको यो पार्टी र संसदीय जीवनकै अन्तिम कार्यकाल हो । यो कार्यकालमा उनका दुई वटा मात्र स्वार्थ छन्, प्रधानमन्त्री हुने र श्रीमती आरजु राणालाई जोगाइरहने । सके आफ्नो कार्यकालपछि श्रीमतीलाई पार्टीमा स्थापित गराउने । उनलाई थाहा छ, यो त्यति सहज छैन । त्यसैले उनी पहिलो दुई स्वार्थमै केन्द्रित छन् ।

देउवाका यिनै स्वार्थमा अड्किएको कांग्रेस इतिहासमै सबैभन्दा भुत्ते छ । यसका दुई ऊर्जाशील महामन्त्रीहरू पार्टी नेतृत्व र संसद् दुबैतिर हुँदा पनि केही गर्न सकेका छैनन् । कांग्रेसको सुन्दर भविष्य देख्न चाहनेका लागि यो एक किसिमको विडम्बना नै हो ।

यो राजनीतिक अन्डरकरेन्टको झिल्का संसदमा देखिएको छ । संसद् अहिलेकै अवस्थामा चल्नै नसक्ने अवस्थामा पुगेको छ । रविको सहकारी प्रकरणले तिरिखिरी खेलाइरहेको संसद् अब सजिलै अगाडि बढ्ने अवस्था छैन । यो मुद्दा अब देशको मुद्दा भन्दा पनि रवि लामिछाने र गगन थापाको जुङाको लडाइँजस्तो भएको छ । यी दुईलाई लडाएर ओली नभएका जुँङामा ताउ लगाइरहेका छन् ।

प्रकारान्तरमा एउटै कुरा मात्र हेर्न बाँकी हुन्छ, ओलीले गुडाएको मध्यावधिको गाडी गन्तव्यमा पुग्छ कि बिचैमा दुर्घटनामा पर्छ ? त्यसका लागि भने केही समय पर्खनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्