Logo
Logo

आयरल्यान्ड, नर्वे र स्पेनद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता


504
Shares

एजेन्सी । आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेका छन् । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र इस्लामिक समूह हमासले युरोपेली राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा दिएको मान्यताप्रति आभार प्रकट गर्दै निर्णयको स्वागत गरेका छन् ।

प्यालेस्टाइनलाई मान्यता दिने उक्त निर्णयको इजरायलले भने कडा शब्दमा विरोध गरेको छ। हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गाजामा कारबाही केन्द्रित गरेपछि यस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध भड्किएको छ।

आयरल्यान्ड, नर्वे र स्पेनले गाजा युद्धको सात महिनापछि मे २८ पछि प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेका हुन्।

‘हामी यसलाई हाम्रो भूमिमा हाम्रो अधिकार पुष्टि गर्ने दिशामा एक महत्त्वपूर्ण कदम ठान्छौँ,’ हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, विश्वभरका देशहरूलाई हाम्रो वैध राष्ट्रिय अधिकारलाई मान्यता दिन आह्वान गर्दछौँ।’

हमासका वरिष्ठ अधिकारी बासेम नइमले प्यालेस्टिनी जनताको ‘साहसिक प्रतिरोध’का कारण तीन युरोपेली मुलुकले यो कदम चालेको दाबी गरे। उनले एएफपीसँग भने, ‘यी क्रमिक मान्यताहरू यस साहसी प्रतिरोध र प्यालेस्टिनी जनताको विख्यात दृढताको प्रत्यक्ष परिणाम हो।’

उनले थपे, ‘यो प्यालेस्टिनी मुद्दामा अन्तर्राष्ट्रिय स्थितिमा परिवर्तन आउनेछ भन्ने कुरामा हामी पूर्ण रूपमा विश्वस्त छौँ।’ प्यालेस्टिनी जनताको एक मात्र वैध प्रतिनिधिको रूपमा अन्तर्राष्ट्रिय रूपमा हेरिएको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनले यो निर्णयलाई ‘ऐतिहासिक’ भन्दै स्वागत गरेको छ।

पिएलओ कार्यकारी समितिका महासचिव हुसेन अल शेखले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आयरल्यान्ड, नर्वे र स्पेनको यो कदम ‘ऐतिहासिक क्षण’ हो। यसमा सत्य र न्यायका लागि स्वतन्त्र विश्वको विजय हुन्छ।’

संयुक्त राज्य अमेरिकालगायत अधिकांश पश्चिमा सरकारहरू कुनै दिन प्यालेस्टिनी राज्यलाई मान्यता दिन इच्छुक रहे पनि प्यालेस्टाइनको अन्तिम सीमा र जेरुसेलमको स्थितिजस्ता जटिल मुद्दाहरूमा सहमति हुनु आवश्यक हुने उनीहरूको धारणा छ।

प्रतिक्रिया दिनुहोस्