काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन् ।
स्विट्जरल्यान्डको जेनेभामा ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र संगठनका महानिर्देशक हुंग्बोबीच स्विट्जरल्यान्डको जेनेभामा बिहीबार भेटवार्ता भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताका रूपमा आमन्त्रण गरेकोमा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सामाजिक संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे ।
उनले आप्रवासी कामदारहरूको न्यूनतम तलब, सामाजिक सुरक्षासहित उनीहरूको सुविधा सुनिश्चित गर्न र श्रम गन्तव्य भएका मुलुकलाई जिम्मेवार बनाउन आइएलओले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालले सामाजिक न्यायलाई विकासको केन्द्रविन्दुमा राखेर कार्य गरिरहेको स्पष्ट पारे। उनले नेपालले उत्पादकत्व र श्रमिकको जीवनस्तर सुधार गर्न कानुनी मानक, मापदण्डको नीति तय गरेको जानकारी दिए ।
सो अवसरमा महानिर्देशक हुंग्बोले राष्ट्रपति पौडेलले आइएलओको कार्यक्रमका लागि समय दिएकोमा आभार व्यक्त गर्दै पौडेलको राजनीतिक जीवन र सामाजिक न्यायप्रतिको आस्थाको प्रशंसा गरे ।














