काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरणमा अफगानिस्तान प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९.५ ओभरमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो भने जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले १५.१ ओभरमा तीन विकेट गुमाएर १०१ रन बनाउँदै विजयी भयो ।

अफगानिस्तान समूह ‘सी’बाट सुपर–८ चरणमा पुगेको हो । यसअघि सोही समूहबाट वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ । उक्त समूहमा रहेका अन्य टोली पपुवा न्यु गिनी, युगान्डा र न्युजिल्यान्ड भने घर फर्किने निश्चित भएको छ ।
तीन खेलबाट दुई अंक जोडेको युगान्डा तालिकाको तेस्रो स्थानमा छ । दुई खेल खेलेको न्युजिल्यान्ड चौथो स्थानमा छ । न्युजिल्यान्डले हालसम्म अङ्क जोड्न सकेको छैन । तीन खेल खेलेको पपुवा न्यु गिनी भने पाँचौँ स्थानमा छ । पपुवा न्यु गिनी पनि तीनवटै खेलमा पराजित भएको छ ।
उक्त समूहमा अब न्युजिल्यान्डले युगान्डाको, पपुवा न्यु गिनीले न्युजिल्यान्डको र वेस्ट इन्डिजले अफगानिस्तानको सामना गर्नेछन् ।














