Logo
Logo

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री


315
Shares

रामपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे ।

‘राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,’ उनले भने, ‘तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपील गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।’

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिएको स्पष्ट पारे ।

नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै उनले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए ।

‘आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रमा लगानी केन्द्रित गर्ने, लगानी आकर्षित गर्ने, कृषि र प्रविधिमा पुँजी, प्रविधि र जनशक्तिलाई केन्द्रित गरी रोजगारी सिर्जना एवं सूचना प्रविधिमा वस्तु तथा सेवाको निर्यात गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘यसबाट हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण फड्को हान्नेछ ।’

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने बताए ।

‘भूमण्डलीकृत विश्वासमा अनेकौँ अवसरहरू हुन्छन् । तर, हामीले अवसरलाई मात्रै हेरेर पुग्दैन, हाम्रो राष्ट्रियता, देशभक्तिपूर्ण भावना र भावी पुस्ताको भविष्यबारे पनि गहिरो गरी विचार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आज विकसित भनिएका सबै मुलुकहरू इतिहासको विभिन्न कालखण्डमा ठूलठूला चुनौतीहरूको सामना गरेर यहाँसम्म आएका छन् । तसर्थ, हामीले विकसित मुलुकहरूको प्रगतिको कुरा गर्दा उनीहरूको विगत, समृद्धिका लागि गरेको सङ्घर्ष र ती देशका नागरिकमा जागृत देशभक्तिपूर्ण भावनाको समेत अध्ययन गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्