काठमाडौं । नेपालजस्तो सानो पुँजीबजार भएको देशको लागि दुईवटा स्टक एक्सचेन्ज (धितोपत्र बोर्ड) आवश्यक छ कि छैन भन्ने विषयमा कुनै अध्ययन भएको छैन ।
हचुवाको भरमा कमिसन खानकै लागि सरकारले निजी क्षेत्रलाई पनि स्टक एक्सचेन्जको लाइसेन्स दिने भनेपछि धितोपत्र बोर्डको अध्यक्ष बनाउन बालुवाटार र बोलकोटबीच ठूलो द्वन्द्व छ । यही द्वन्द्वका कारण धितोपत्र बोर्डका अध्यक्ष नियुक्ति पनि विवादमा परेको छ ।

बालकोटनिकट बिचौलियाहरूले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउन दबाब दिएपनि बालुवाटारले मानेको छैन । जसका कारण धितोपत्र बोर्डकाे अध्यक्षका लागि उम्मेदवाहरूको अन्तर्वार्ता समेत स्थगित भएको छ ।
धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा पारेका पाँचजनालाई गत आइतबार बिहान नौ बजे व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, तीनजना आएनन् । उनीहरू नआएपछि बुधबार (आज) प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएकोमा आज पनि उपस्थित भएनन् ।
यसरी नआउनेमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन् । गत आइतबार सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् ।
अधिकारी, कार्की र चापागाईंले भने अहिलेसम्म पनि आफ्नो मोबाइल अफ गरेर बसेका छन् । उनीहरूको राजनीतिक आस्था एउटै भएकाले सल्लाह गरेरै प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार थपिएको समयमा पनि उनीहरू अन्तर्वार्तामा नआएपछि अब अध्यक्ष नियुक्तिका लागि थालिएको प्रक्रिया रद्द गर्ने तयारी भइरहेको छ । प्रक्रिया रद्द गर्न मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको बताइएको छ ।
‘सर्टलिस्ट’मा परेका पाँचजनामध्ये तीनजना प्रस्तिस्पर्धीहरूले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका भए मन्त्रिपरिषद्मा नाम सिफारिस गर्न मिल्थ्यो । तर, दुईजनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ता भएकाले प्रक्रिया रद्द हुनेछ ।














