काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

उनले समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी सङ्घसंस्थाको समस्या समाधान गरिने स्पष्ट पारे । नेपालको अर्थतन्त्रमा सहकारीको योगदान रहेको उल्लेख गर्दै उनले सहकारीका आधारभूत मूल्य र मान्यताअनुसार स्वनियमनमा आधारित रहेर सहकारी सदस्यहरूको हित प्रवर्द्धधन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै उनले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारे । थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने उल्लेख गरे । उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे ।
त्यस्तै उनले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको समेत बताए ।
त्यस्तै सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको जानकारी दिए । प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा प्रमुख दलका नेता, सांसद मन्त्रीहरु उपस्थीति हुने परम्परा रहेपछि क्रमश उक्त परम्परा हटाउदै गएको भन्दै गुनासो गरे ।














