काठमाडौं । काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालय अगाडी निरन्तर नाराजुलुस भइरहेको छ । सरकार र विभागको विरुद्धमा नाराजुलुश गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको छ ।
आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन माग गर्दै आज आठौँ दिन पनि नाराजुलुश सहित धर्ना एवं घेराउ गर्यो ।

आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरूको माग सम्बोधनमा ढिलाइ गरेकाले आज हातमा कालोपट्टि बाँधेर वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिइएको बताए । चर्कोगर्मीका बीचमा विगत आठ दिनदेखि वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने माग सहित निरन्तर आन्दोलन भइरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेकोमा उनले आपत्ति जनाए ।
‘वैदेशिक रोजगारमा गएका लाखौँ युवाको माग सम्बोधनका निमित्त आफूहरूले निरन्तर आन्दोलन गरिरहेको भए पनि सरकारले समस्या समाधानका लागि पहल नगर्दा दुख लागेको छ । तर हामी थाकेका छैनौँ, हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’ साहले भने, ‘हामी हाम्रो मागको बारेमा सरकार र विभागलाई ध्यानाकर्षण गराइसकेका छौँ तर पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ ।’
आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरू समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीको छ ।
आइटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवालाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी म्यानपावर खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि आइटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ ।
आइटी आर्मीका उपाध्यक्ष सुमन यादवले वैदेशिक रोजगारको क्षेत्रमा जताततै मनोमानी भइरहेकाले सर्वसाधारण पीडित बनेको बत्ताइन् । ‘लाखौँ लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौँलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ । असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’ यादवले भनिन् ।
संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवालाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरूले अवसर पाइरहेको आइटी आर्मीले जनाएको छ ।
युवाले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुन्डीमार्फत दुरुपयोग भइरहेको पनि यादवले बत्ताइन् । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरूले हुन्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरू विना लगानी म्यानपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आइटी आर्मीको माग छ ।














