
काठमाडौं । आइसीसी टी–२० विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डले जारी विश्वकपकै सर्वाधिक ठूलो १० विकेटको जित निकालेको छ ।
ब्रिजटाउनमा इंग्ल्याण्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा मात्रै जित हात पारेको थियो ।
पहिलो– क्रिस जोर्डन, जसले १९ औं ओभरमा ह्याट्रिक लिए र अमेरिकी टोलीलाई ११५ रनको मामूली स्कोरमा सीमित गरे । दोस्रो, ३८ बलमा अविजित ८३ रनको विस्फोटक इनिङ्स खेलेका जोस बटलरले १० ओभरमा जित दिलाए पनि म्यान अफ द म्याचको अवार्ड ४ ओभरमा १३ रन दिएर २ विकेट लिने आदिल रसिललाई दिइएको थियो ।
फास्ट बलर क्रिस जोर्डनको उत्कृष्ट प्रदर्शनपछि कप्तान जोस बटलर र फिल साल्टको ओपनिङ जोडीले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो । विश्वकपमा इङ्ल्यान्डले कुनै विकेट नगुमाएको यो दोस्रो पटक हो । अमेरिकाभन्दा अगाडि सन् २०२२ मा इंग्ल्याण्डले पनि भारतलाई सोही अन्तरले पराजित गरेको थियो ।














