
काठमाडौं । आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसीसी टी–२० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ ।
आज बिहान सर विवियन रिचर्ड्स स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको हो ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको वेस्ट इन्जिडले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो । १३६ रनको लक्ष्यसहित मैदान उत्रेको दक्षिण अफ्रिकाले ब्याटिङ्ग गर्ने क्रममा वर्षा भएपछि निर्धारित २० ओभरको खेल घटाएर १७ ओभरमा सिमित गरियो भने जितको लक्ष्य १२३ तोकिएको थियो ।
दक्षिण अफ्रिकाको जितका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन जोडे भने हेनरिक क्लासेनले २२ रनको पारी खेले। मार्को जेनसन २१ रनमा नट आउट रहँदा कागिसो रबाडाले नट आउट रहँदै ५ रन जोडे ।
वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ५२ रनको पारी खेल्दा काइली मायर्सले ३५ रन जोडे । आन्द्रे रसेलले १५ र अलजारी होसेनले ११ रनको पारी खेले । अन्य कुनैपनि खेलाडी दक्षिण अफ्रिकाका बलरसमक्ष धेरै बेर टिक्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि तबरेज सम्सिले सर्वाधिक ३ विकेट लिए भने कागिसो रबाडा, मार्को जेनसन, एडन मार्करम र केशव महाराजले १÷१ विकेट लिए ।
यसका साथै टी–२० विश्वकपको सेमिफाइनलमा ईङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले आफ्नो स्थान निश्चित गरेका छन् । दोस्रो समूहबाट शीर्ष दुईमा रहँदै यी दुई टिम सेमिफाइनलमा प्रवेश गर्दा आयोजक राष्ट्र वेस्ट इन्डिज भने बाहिरिएको छ ।