
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बैठक बिहान १० बजे होटेल मेरियटमा बैठक सुरु हुनेछ ।
नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै सन् २०१६ मा गरिएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि नेपालले जोड दिने, गत साता नेपाल र चीनबीच बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावकाबारेमा पनि छलफल हुने बताइएको छ ।
सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बीआरआईको प्रगतिबारे चर्चा गर्ने र सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पनि पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई बैठकमा चीनले उठाउने तयारी गरेको छ । संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो।














