Logo
Logo

एक्लिँदै बालेन, खनिए वडाध्यक्षहरू


1k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगरसभामा सोमबार जुन दृश्यहरू देखिए, त्यो कुनै पनि संसद्को भन्दा कम थिएन ।

सदनमा जसरी प्रतिपक्षी दलका सांसदहरूले सरकारमाथि प्रश्न उठाउने गरेका छन्, त्यसरी नै काठमाडौँ महानगरको नगरसभा बैठकमा वडाध्यक्षहरूले मेयर बालेनमाथि प्रश्न उठाए ।

स्वतन्त्र उम्मेदवारी दिएर ठूलो मतान्तरमा कांग्रेस, एमालेका उम्मेदवारलाई हराउँदै मेयर जितेका बालेनले सम्भवतः पहिलोपल्ट शक्तिशाली प्रतिपक्षको सामना गर्नुपर्यो । संसदमा हुने सत्तापक्ष र प्रतिपक्षबिचको मुठभेडजस्तो दृश्य नगरसभामा देखियो ।

यसअघि पनि बालेनको शब्द र शैलीमाथि वडाध्यक्षहरूबाट आलोचना हुँदै आएको थियो । यही असार दुई गते आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठक बसेको थियो ।

मेयर बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यपालिका सदस्यहरू हिँडेपछि बैठक स्थगित भएको थियो । त्यसपछि मेयर बालेनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै वडाध्यक्षहरूलाई पार्टीको धङधङी बोकेर नआउन चेतावनी दिएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए– तीन जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो । काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन । काठमाडौँ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

मेयर बालेनको उक्त चेतावनीपछि वडाध्यक्षहरू झनै आक्रामक भएर नगरसभा बैठकमा प्रस्तुत भए । मेयर बालेनको त्यही स्टाटसमा सोमबार तीन दलका जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नविन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले दुई वर्षसम्म मिलेर काम गर्दा पनि आफूहरूलाई आरोपित गरेको गुनासो गरे ।

त्यस्तै न्यूरोडलाई ‘नो भेइकल जोन’ बनाउने काठमाडौँ महानगरपालिकाको प्रस्तावको विरोधमा मेयर बालेन साहविरुद्ध बहुमत देखियो । महानगर मेयर बालेनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ३८ नम्बर बुँदामा ‘सूचीकृत सम्पदा क्षेत्र लगायत नयाँ सडक (न्युरोड), हाँडीगाउँ जस्ता प्राचीन, पुरातात्त्विक र विशेष महत्त्वका क्षेत्रहरूलाई नो भेइकल जोनका रूपमा विकास गरिने छ’ भन्ने छ ।

तर, न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्तावमा भने प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन् । नीति तथा कार्यक्रममा बोल्ने अधिकांश नगरसभा सदस्यले न्युरोडको नो भेइकल जोन विरोधमा गरेका छन् ।

नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूले बोलिसक्दा नगरसभामा मेयर बालेन एकातर्फ र नगरसभा सदस्यहरु अर्कोतर्फ देखिएका थिए । तर उपमेयर सुनिता डंगोलले समन्वयकारी भूमिका खेलिन् । नेकपा एमालेबाट निर्वाचित भएकी उनले नगरसभामा ध्रुवीकरणजस्तो देखिएको भन्दै यसले सही ठाउँमा नपुर्याउने बताइन् ।

मेयर बालेन र वडाध्यक्षहरूको बेमेल अहिले मात्रै होइन । बालेन निर्वाचित भएदेखि नै दलीय जनप्रतिनिधिको घेराबन्दीमा छन् । स्वतन्त्र रूपमा निर्वाचित बालेनलाई आफ्नै वडाध्यक्षहरूले समेत साथ नदिँदा हरेक कदममा चुनौती र असहज वातावरणको सामना गर्नुपरिरहेको छ ।

महानगरभित्रमात्रै नभएर सबैको आँखाको तारो बनेका बालेन केन्द्रीय राजनीतिका शीर्ष नेतादेखि अदालत हुँदै व्यवसायीहरूको समेत घेराबन्दीमा छन् । यही कारण बालेन मूलधारको राजनीतिमा पनि चर्चाको मुख्य केन्द्र बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्