Logo
Logo
समाचार टिप्पणी

रोजगारीको नाममा युवालाई मृत्युको मुखमा धकेल्न उद्यत सरकार


189
Shares

काठमाडौं । इजरायलमा नौ महिनादेखि युद्ध चलिरहेको छ । सन् २०२३ को अक्टोबर ७ बाट सुरु भएको युद्ध अहिलेसम्म अन्त्य हुने काँटछाँट छैन । इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण जारी रहने बताउँदै आएको छ ।  

गाजामा इजरायलको लगातारको आक्रमणका कारण लाइफलाइनहरू अवरुद्ध भएको छ । स्वदेशमा रोजगारीको प्रबन्ध हुन नसक्दा बाध्यताले इजरायल पुगेका १० नेपालीको त्यहाँका आन्तरिक झैझगडा र लडाइँमा मृत्यु नै भयो । अझै एकजना नेपाली बेपत्ता छन् ।

बेलायत युद्ध लड्छ, नेपाली मर्छन् । भारत र पाकिस्तान युद्ध लड्छन्, नेपाली मर्छन् । इराकमा युद्ध हुन्छ, नेपाली मर्छन् । रुस–युक्रेनबीच युद्ध हुन्छ, नेपाली मर्छन् । अफगानिस्तानमा युद्ध हुन्छ, नेपाली मर्छन् । लेबनानमा युद्ध हुन्छ, नेपाली मर्छन् । सुडानमा युद्ध हुन्छ, नेपाली मर्छन् । इजरायलमा युद्ध हुन्छ नेपाली मर्छन् । 

नेपालीहरूले यो अवस्था किन भोग्नु परिरहेको छ ? ज्यादै गम्भीर कुरा हो यो । नेपाल सरकारले आफ्ना नागरिकलाई उचित रोजगारी दिन सकेको छैन । त्यसैले रोजगारी खोज्दै विभिन्न देशमा पुग्ने नेपालीहरूले अकालमा ज्यान गुमाउनु परेको छ । 

सरकारले आफ्ना नागरिकको लागि देशमै रोजगारीको अवसर सिर्जना गर्नुको साट्टो जस्तोसुकै जोखिमपूर्ण देशमा पनि पठाउने गरेको छ । अहिले पनि युद्धग्रस्त देश इजरायल पठाउन वैदेशिक रोजगार विभागले ८ सय जना केयरगिभर माग गरेको छ । 

विभागको अनुसार ८ सय जना माग गरिएकोमा पाँच सय जना मुख्य उम्मेदवार हुनेछन् भने ३  सय जना वैकल्पिक उम्मेदवार हुनेछन् । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । हमास र इजरेलको युद्ध चर्किएपछि सरकारले सो देशमा जान प्रतिबन्ध लगाएको थियो । तर, वैशाखमा उक्त प्रतिबन्ध खुलाएको थियो । 

सरकारले इजरायल मात्रै होइन, युक्रेनसँग युद्ध लडिरहेको रुसका जुनसुकै क्षेत्रमा काम गर्न जान दिने गरी श्रम स्वीकृति खुला गरिसकेको छ । सरकारले रुसमा पुगेर नेपालीहरू सेनामा भर्ना भइरहेको भन्दै गत १९ पुसमा रुस र युक्रेनमा सबैखाले श्रम स्वीकृति अनिश्चितकाका लागि स्थगन भएको थियो । 

अहिले श्रम स्वीकृति लिएर १ सय ७२ मुलुकमा नेपाली पसिना बगाउन पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यी देशमा संस्थागत र व्यक्तिगत तवरमा श्रम स्वीकृति लिएर नेपाली रोजगारीमा जाने गरेका छन् ।

रोजगारीको खोजीमा नेपालीहरू विश्वका हर कुनामा पुगे पनि उनीहरूलाई आकस्मिक विपत्ति पर्दा के गर्ने भन्ने संयन्त्रचाहिँ नेपालसँग छैन । जसले गर्दा सहज जीवनका लागि काम खोज्दै विश्वभर छरिएका नेपालीहरू विपत् पर्दा उच्च जोखिममा रहेका छन् । विगतमा समेत आपत्कालीन उद्धार नहुँदा नेपाली नागरिकले हैरानी खेपेका उदाहरण बग्रेल्ती भेटिन्छन् ।

१ सय ७२ मुलुकमा नेपाली कामदार जीवन गुजार्ने मेलो खोज्दै पुगे पनि १ सय ६८ वटा देशसँग मात्र नेपालले कूटनीतिक सम्बन्ध विस्तार गरेको छ । कतिपय नेपाली श्रमिक कार्यरत देशमै दूतावास स्थापना हुन सकेका छैनन् । 

नेपाली कार्यरत देशमा आपत्कालीन अवस्था सिर्जना भए उद्धारका लागि कूटनीतिक नियोगको आवश्यकता पर्छ । तर, सरकारले यो विषयमा चासो दिएको छैन । नेपालीहरू धेरै भएका कतिपय देशमा सरकारले नियोग खोल्न नसकेका कारण ती देशमा समस्यामा परेका नेपाली कामदारको उद्धार गर्न सरकारले अर्को देशमा भएको नियोगमा निर्भर रहनुपर्ने बाध्यता छ । 
हरके वर्ष वैदेशिक रोजगारीमा जाने हजारौँको मृत्यु  हुन्छ  ।  के कारणले श्रमिक मर्छ/मारिन्छ ? कुन रोग लागेर रु कस्तो दुर्घटनामा ? कस्तो रोगले ? कुन कालगतिले  ? यसबारे सरकारसँग कुनै अभिलेख भेटिन्न । 

परिवारजनलाई सही जानकारी दिन कुनै संयन्त्रले प्रभावकारी काम गरेको भेटिन्न । अर्बौँ रुपैयाँ वैदेशिक रोजगार कोषमा राख्ने सरकारले कामदार नेपालीले मृत्युवरण गरेको समाचार आएको वर्षौँ व्यतीत हुँदा पनि लास झिकाइदिँदैन । काज किरिया वा आफ्नो समुदायको रीतिथितिबमोजिम सद्गत गर्ने काम रोकिन्छ । 

नेपालमा सही तथ्य वा तथ्याङ्क प्राप्त गर्नु भनेको फलामको चिउरा चपाउनुजस्तै हो । कति श्रमिक प्रतिवर्ष बजारमा आउँछन् ? तीमध्ये कतिले स्वदेशमै रोजगारी पाउँछन्? कति वैदेशिक रोजगारीमा जान्छन् ? कति वैध च्यानल प्रयोग गरेर जान्छन् रु कति अवैध मानव तस्करीमा पर्छन् रु वार्षिक रूपमा कति मारिन्छन् रु कति अपाङ्ग हुन्छन् ? कति इन्स्योरेन्स प्राप्त हुन्छन् र कति हुँदैनन् ? 

श्रम शोषण, मानव बेचबिखन, पारिवारिक बिछोड, स्वास्थ्य जोखिम र रेमिट्यान्समा निर्भरता जस्ता समस्याले गर्दा वैदेशिक रोजगारीले नेपालको लागि ठूलो समस्या सृजना गर्दैछ । 

नेपाली कामदारहरूलाई कम तलब र असुरक्षित काम गराइएको पाइन्छ । कामदारहरू मानव बेचबिखन नेटवर्कको सिकार हुने समस्या छ । जसले गर्दा जबरजस्ती श्रम, यौन शोषण र अन्य प्रकारका दुर्व्यवहारहरू निम्त्याइरहेको छ । धेरै नेपाली कामदारहरूले विदेशमा जोखिमपूर्ण कार्य वातावरणको सामना गर्छन् । उचित सुरक्षा उपायहरूको अभावमा दुर्घटना र चोटपटक निम्त्याइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्