काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्षको रुपमा आफ्नो दावी कायमै रहेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा अध्यक्षको दावेदारी छाडेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो दावी कायमै रहेको बताएका हुन् । उनले सहमतिका साथ नेतृत्व चयनका लागि आफुले पार्टीका नेताहरुसंग छलफल गरिरहेको जिकिर गरे ।
पार्टी नेतृत्वका लागि आफ्नो नाममा सहमति नहुने कुनै कारण नरहेको उनले बताए । बुधबार महासचिव घनश्याम भुसाललाई खनालले अध्यक्षमा समर्थन गर्ने समाचार आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको बिषयमा बिभिन्न नेताहरुको नाममा चर्चा हुँदै आएको छ ।














