काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीमा सहमति खोज्न बिहीबार अपरान्ह बैठक बोलाएका थिए ।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार टीआरसीलाई चाँडै टुंगोमा पुर्याउन ठूला तीन दलबीच सहमति भएको छ । तीनजना सदस्य को–को रहने भन्ने विषय एक–दुई दिनभित्रै तोकिने जानकारी बर्तौलाले दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै सत्तापक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।
यसअघि कांग्रेससहितको गठबन्धनकै बेला प्रधानमन्त्री प्रचण्डले टीआरसीलाई टुंगोमा पुर्याउन खोजेका थिए । तर, बीचमै गठबन्धन फेरियो । गठबन्धन फेरिएलगत्तै टीआरसी विधेयकबारेको छलफलले तीव्रता पाएको थिएन ।
अहिले सत्तापक्षका प्रमुख नेता एवं एमाले अध्यक्ष ओलीले टीआरसी टुंग्याउनुपर्नेमा सकारात्मक रहेको बुझिन्छ । त्यसो त गठबन्धन बनेपछि ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’मा टीआरसीसम्बन्धी कानून तत्काल बनाउने र टुंगोमा पुर्याइने उल्लेख गरिएको थियो ।
छलफलमा कांग्रेसका तर्फबाट नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी सहभागी थिए ।
त्यस्तै एमालेका तर्फबाट सहभागी अन्य नेतामा प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला, अग्नि खरेल र माओवादीबाट जनार्दन शर्मालगायतका नेता सहभागी थिए ।














