काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता समीकरण गर्ने सहमित भएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अल्पमतको सरकारमा बसिरहनुभन्दा राजीनामा दिनु उचित्त रहेको भन्दै उनी राजीनामा दिने तयारी पुगेका हुन् । रास्वपाका एक नेताका अनुसार सरकारमै बस्ने वा राजीनामा दिने भन्ने निर्णय आजको बैठकले गर्ने भएको छ । अहिले पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

उनी निकट नेताहरुले समेत लामिछानेलाई राजीनामा दिन सुझाव दिएका छन् । रास्वपा सभापतिसमेत रहेका लामिछानेले आजको बैठकपछि निर्णय गरेर आजै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने मनस्थितिमा पुगेको ती नेताको भनाइ छ ।
नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई बुधबारसम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरिसकेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेको हो ।
रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा सहभागी नहुने निर्णइ गरिसकेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।














