Logo
Logo

महामन्त्रीले ३९ जिल्ला घुमेर बनाएको प्रस्ताव रविले बैठकमा पेश गर्न दिएनन्


3.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले समीक्षा प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्न नदिएको बताएका छन् ।

रास्वपा सचिवालयको मंगलबार बसेको बैठकमा महामन्त्री मुकुल ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो । तर, आज बुधबार बिहानबाट सुरू भएको बैठकमा पार्टी सभापति रवि लामिछानेले सचिवालयको निर्णयविपरीत प्रस्ताव पेस गर्न नदिएका हुन् ।

महामन्त्री ढाकालले लिखित प्रस्ताव तयार पारिएपनि सभापतिले बैठकमा पेश गर्ने अनुमति नदिएको बताए । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरिएको ढकालले बताएका छन् ।

पछिल्लो समय रास्वपामा पार्टी सभापति रवि लामिछाने र महामन्त्री डा. ढकालबीच अन्तरविरोध चर्किएर गएको छ ।
महामन्त्री ढकालले आजको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका थिए । तर सभापति लामिछानेले सुनुवाइ नगरेको भन्दै बैठकमा मुखमा टेप लगाएर ढकाल प्रस्तुत भएका थिए ।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ। त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छलफल थालेको हो ।

प्रतिक्रिया दिनुहोस्