Logo
Logo

प्रहरीले गोली चलाएर चोर समात्यो


0
Shares

काठमाडौं । प्रहरीले बाँकेमा गोली चलाएर चोरी मुद्दामा ६ वर्ष सजाय पाएका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका–६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो ।

सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सो क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका हुन् ।

प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ । घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ । सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्