
काठमाडौं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद सचिवालयलाई जानकारी गराएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको सूचना संसद सचिवालयलाई दिएका हुन् । योसँगै एमाले अब नयाँ सरकार गठन नहुँदासम्म प्रतिपक्षमा बस्ने भएको छ ।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’
गत असार १७ गते एमालेले वर्तमान गठबन्धन तोड्दै नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी गरेको थियो । एमाले र कांग्रेस दुवैले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह यसअघि नै गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिने बताउँदै आएका छन्।














