Logo
Logo

मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउन ‘हेडवर्क्स’ सार्नुपर्ने


315
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ सारेपछि मात्रै काठमाण्डौ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाण्डौ उपत्यकामा दीर्घकालसम्म पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स नै सानुपर्ने बताएका हुन् । उनले साविककै हेडवर्क्सबाट पानी ल्याउन नसकिने स्पष्ट पारे ।

यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स कडा चट्टान भएको ठाउँमा सार्नुपर्ने बताए । उनले हेडवर्क्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराए ।

२०७८ साल असार १ गतेको बाढी, पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा क्षति पुगेको थियो । त्यसयता हेडवर्क्समा थप क्षति हुन नदिन भन्दै बर्खाको समयमा मेलम्चीको पानी काठमाण्डौ ल्याउन बन्द गरिँदै आएको छ ।

यसैबीच संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाण्डौ उपत्यकामा खानेपानी ल्याउने सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाण्डौ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि सुझावसहितको प्रस्ताव समितिसमक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिले खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरूसँग काठमाण्डौ उपत्यकाभित्र मेलम्ची खानेपानी वितरण एवम् सहज आपूर्तिका लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्