Logo
Logo

मुग्लिन खण्डमा पहिरो : उद्दारमा समस्या, ६५ जना यात्रुको अवस्था अज्ञात


756
Shares

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गतको सिमतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस त्रिशूलीमा खसेको छ । लेदोसहित आएको पहिरोले बगाएर ती बस त्रिशूलीमा बगाएर खसेको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले बताएकी छन् ।

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेतिर सडकको माथिल्लो भागबाट लेदोसहित पहिरो खसेको थियो । दुवै बस पहिरो खसेको स्थान पारगर्ने क्रममा बगाएको हो । पहिरोका कारण अवरुद्ध भएको सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याएको उनले बताइन् ।

घटनास्थलमा उद्धार कार्य सुरु हुन सकेको छैन । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आएपनि घटनास्थलसमम जान सकेका छैनन् । सो सडक खण्डमा कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन् ।
उनले भनिन्, ‘लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ । बसका यात्रुहरूको अवस्था अज्ञात छ । उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ । गोताखोरह पनि पहिरोका कारण अड्किएका छन् ।’

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

प्रतिक्रिया दिनुहोस्