काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट झुक्याइएको स्वीकारेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले असार १७ गते बिहानमात्रै ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेको कुरा स्मरण गर्दै भने, ‘म लामा लामा मिठा र भरोसापूर्ण संवादबाट लठ्याँइएँ । अल्मलिएँ । स्वर्ग र नर्क सँगै जाने कुरा १७ गते बिहानको हो । त्यही दिन बिहान ८४ को चुनाव वामपन्थी मिलेर जाने, पार्टी पनि एउटै बनाउने भनेपछि म मख्ख परेँ ।’
एमाले र कांग्रेसप्रति आक्रोशित रुपमा प्रस्तुत भएका उनले एमालेको मूल नेतृत्वबाटै त्यस्तो अभिव्यक्ति आएपछि आफूले पत्याएको बताउँदै भने, ‘मूल नेतृत्वले नै स्वर्ग र नर्क सँगै जाने भएपछि के नपत्याउने ? म फुर्कँदै क्याबिनेट गएँ । त्यहाँ उपप्रधानमन्त्री मन्त्रीहरूलाई शंका थियो । धोका हुन लागेको छ रे भन्ने त कुरा भएको थियो । हैट, तपाईंहरू ढुक्कले काम गर्नुस् केही हुँदैन भनेँ, कति लाटो म ।’














