
काठमाडौं । शुक्रबार बिहान नारायणगढ–मुग्लिनसडक अन्तर्गत सिमलतालमा बस दुर्घटनामा परेकामध्ये पाँच जनाको शव भेटिएको छ ।
माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, भारतको बिहार सीतामढी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह र भारत नै घर भएका २९ वर्षीय सज्जात अन्सारीको शव भेटिएको हो ।
एक जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ गइरहेको बस र वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोमा बग्दा त्रिशुलीमा वेपत्ता भएका थिए ।
गौर गइरहेको बसमा ३८ जना र काठामाडौं आइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । अहिलेसम्म ५ जनाको शव भेटिएको छ । त्यसमध्ये ४ जनाको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।