काठमाडौं । न्यूरोडमा फुटपाथ विस्तारमा स्थानीय र व्यवसायीले अवरोध गरेका छन् । न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।
उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारदेखि न्यूरोडको फुटपाथको काम सुरु गरेको थियो । तर, स्थानीय र व्यापारीले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रर्दशनमा उत्रिएका छन् । स्थानीय अवरोधमा उत्रिएपछि ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ ।

यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । त्यतिबेला पनि न्यूरोडका स्थानीय र व्यापारीले अवरोध गरेका थिए ।
स्थानीय र व्यापारीको अवरोधबीच महानगर कालोपत्रे काटेर काम सुरु गरेको थियो । तर, सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । त्यसविरुद्ध महानगर उच्च अदालत पुगेको थियो ।














