Logo
Logo

रामहरिले ‘एनजीओको खाजा’को रिस उपसभामुखमाथि पोखे !


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले भिसा दिन अमेरिकी दूतावासलाई लेखेको पत्रका सन्दर्भमा संसद्‌बाटै प्रश्न उठाएको छ ।

आइतबारको प्रतिनिधिसभामा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख रानाको उक्त कदमको चर्को विरोध गर्दै छानबिन माग गरेका छन् ।

संसद् र उपसभामुख पदसँग कुनै साइन नभएको मान्छेहरूलाई पदको दुरुपयोग गरेर पत्र लेखेकोले पदबाट राजीनामा दिएर छानबिनमा उपसभामुखले सहयोग गर्नुपर्ने माग उनले गरे ।

‘संसद्सँग कुनै साइनो नभएको पाँचजना मान्छेका लागि अमेरिकी भिसाका लागि प्रयोग गरिएको पत्र प्राप्त भयो । यस्तै अवस्थामा उपसभामुखले संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? संसद्‌भन्दा बाहिर बसेर यो छानबिनलाई सहयोग गर्नुपर्छ ।’

सांसद् खतिवडाले उपसभामुख कार्यालय र संसद्लाई भिसा सहजीकरणको कन्सल्टेन्सी नबनाउन चेतावनीसमेत दिए । ‘भिसा सहजीकरणको कन्सलटेन्सी उसभामुखको कार्यालय र संसद हुन सक्दैन’, उनले भने ।

कांग्रेसका सांसद खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पनि हुन् । समितिमा हुने स–साना विषयमा पनि उनी विवादमा तानिइरहन्छन् ।

गत असार दुई गतेको बैठकमा संघीय निजामती सेवा विधेयकबारे विज्ञसँग छलफल गर्ने एजेन्डा थियो । तर, बैठकमा गैरसरकारी संस्थाको खाजा पहिल्यै पुगेपछि बैठक स्थगित भयो ।

खाजाको विषयमा छलफल चलेपछि बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ‘यस्तो अवस्थामा बैठकमा बस्नै नसक्ने’ भन्दै बाहिरिएपछि बैठक चल्न सकेन । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीलगायतका विज्ञहरूसँग छलफल रहेको थियो । सोही विषयमा पछि छलफल गर्ने भन्दै बैठक स्थगित गरियो ।

त्यसैले खतिवडा रास्वपासँग रुष्ट बन्दै आएका छन् । अहिले उपसभामुखमाथि यसरी खनिनुको कारण पनि सोही विषय भएको कतिपयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्