काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारको प्रारम्भीक कदमले आफुहरुलाई झस्काएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको छलफलका क्रममा लामिछानले सरकार सुरु हुने वित्तिकै अनुसन्धान भइरहेको विषयलाई प्रभाव पर्ने काम गरेको भन्दै यसले आफुहरुलाई झस्काएको बताएका हुन् ।
उनले मन्त्रिपरिषद् गठन गर्दा पनि बिभिन्न प्रकरणमा नाम मुछिएकाहरुलाई पुरस्कार दिने काम भएको तर्क गरे । प्रधानमन्त्रीको राजनीतिक योगदान, राजनीतिक त्याग र बलिदानप्रति सम्मान रहेको भन्दै उनले त्यसलाई निराशातर्फ ढकेल्ने काम नगर्न सुझाव दिए ।
लामिछानेले प्रतिपक्षीमा बसेर गुण र दोषका आधारमा सरकारको मुल्यांकन गर्ने जिकिर गरे । उनले नेपालमा पटक-पटक सत्ता समिकरण परिवर्तनको खेल भइरहेको भन्दै अहिले नै गाली गर्ने वा गाला मुछार्ने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले मुलुकलाई निकास दिनकालागि कांग्रेस–एमालेको गठबन्धन अन्तिम बिकल्प भनिरहदा यो पनि असफल भए समाजमा के सन्देश जान्छ भन्ने हेक्का राख्न पनि आग्रह गरे । ठूला दलहरु मिल्दा सत्तापक्षको आवाज ठूलो हुने भएपनि आफुहरु बिचारका आधारमा सक्षम प्रतिपक्षी बन्नका लागि तयार भएर बसेको उनको भनाइ छ ।