Logo
Logo

रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीका भावनात्मक कुरा…


315
Shares

काठमाडौँ । “मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरु कति सक्षम हुन्छन् भन्ने,” रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भावनात्मक कुराहरु पोख्दै भने, “नेपाल र रुस दुई पुराना मित्रहरु हुन् । हाम्रा सम्बन्धका अनेक आयाम छन् ।

रुसले नेपालको शिक्षा, यातायातलगायत विविध क्षेत्रमा सोभियत संघ हुँदादेखि नै सहयोग गर्दै आएको छ । दुई देशबीचका हाम्रा सम्बन्धलाई अझ पुनःताजगीकरण गराउन हामी लाग्नेछौँ । प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते प्राडा प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीबाट त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत संघ हुँदादेखि नै रुसबाट नेपालले विभिन्न क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए । दुई देशका भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको ग्रेट मस्को सर्कस र नेपालको मौलिक नृत्य, अर्केष्ट्रा संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।

रुसलाई उपनिवेशबाट मुक्त गर्न तथा हिटलरको तानाशाही शासनका विरुद्धको स्वतन्त्रताको लडाइँका लागि भ्यादिमिर लेनिनले गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ पनि भएकाले दुई देशबीचको सम्बन्धका अनेक आयामहरु रहेको चर्चा गरे । प्रधानमन्त्री ओलीले नेपाल बसाइका क्रममा रुसका भलिबल टोलीलाई अनुकूल भएमा ‘माउन्टेन फ्ल्याइट’ गर्न सुझाव दिए ।

सो अवसरमा नेपालका लागि रुसी राजदूतावासका प्रथम सचिवले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र खेलकुदलगायत क्षेत्रका सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

संघले आगामी २०८२ जेठ ८ मा पर्यटन वृद्धिमा समेत योगदान दिने लक्ष्यका साथ सगरमाथा आधार शिविरमा राष्ट्रिय भलिबल दिवस मनाउन तयारी गरेकाले त्यसमा नेपाल सरकारबाट सहयोगको अपेक्षा गरेको थियो । महासचिव श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माणका लागि आग्रह गर्दा प्रधानमन्त्रीले ओलीले निर्माण गर्न पहल गर्ने बताएका थिए ।

सो अवसरमा गैह्रआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्