
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले आज पनि देशका केही साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, जाजरकोट, दैलेख, कालीकोट, अछाम र बाजुरा भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने जानकारी दिएको हो ।
अबका तीन दिन कोसी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य घटबढ हुने छ । नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह बढ्दो हुने महाशाखाको अनुमान छ । यी नदी तथा खोलामा बाढी आउने भएकाले उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

