Logo
Logo

वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावरमाथि कारबाही गरिने


189
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले कोही व्यक्ति वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीमाथि कारबाही गर्ने भएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको छ ।

‘इजाजतपत्र प्राप्त संस्थाहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्नेजस्ता गुनासोहरू विभागमा प्राप्त हुने गरेकोले त्यस्तो कार्यहरू नगर्नरनगराउन हुन अनुरोध छ,’ विभागले विज्ञप्तिमा भनेको छ ।

यस्तो गरेमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने विभागले जनाएको छ । विभागले वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिएअनुसारको मिति र समयमा अन्तर्वार्ता लिन पनि भनेको छ ।

तोकेको मितिमा अन्तर्वार्ता नगराउने र सार्ने तथा उक्त समयमा आवेदक जाँदा कार्यालय बन्द समेत हुने गरेको गुनासो विभागमा आएको विज्ञप्तिमा उल्लेख छ ।

अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले तोकिएको मापदण्डबमोजिम नगरेको गुनासो पनि विभागमा प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।

‘विभागबाट अनुगमन गर्दा समेत त्यसप्रकारको अवस्था भेटिएकोले तालिम सञ्चालन गर्ने संस्थाहरूले अभिमुखीकरण तालिम संञलन कार्यविधि, २०७६ बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउनहुन अनुरोध छ । अन्यथा, नियमानुसार कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्