काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

उनले भने, ‘किन बनाउनु भएन, केही कारण होला उहाँको मनमा । तर, उपनेता त उहाँले चयन गर्नुपर्ने हो, मलाई पनि लाग्छ, उपनेता बनाउनुपर्छ । उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेताचाहिँ हुनुपर्छ । तर, किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला ।
उनले आफूलाई उक्त जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए । पार्टीका सिनियर नेतामध्येबाट संसदीय दलको उपनेता बनाइनुपर्ने उनको भनाइ थियो ।














